राजनीति


मत बदर हुने प्रमुख कारण दुई वटा चिह्नमा छाप, समानुपातिकभन्दा प्रत्यक्षतर्फ धेरै बदर

मत बदर हुने प्रमुख कारण दुई वटा चिह्नमा छाप, समानुपातिकभन्दा प्रत्यक्षतर्फ धेरै बदर

नेपालखबर
फागुन २७, २०८२ बुधबार १३:३१, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा बदर मतको प्रतिशत घट्न सकेको छैन। समानुपातिकमा कम देखिए पनि प्रत्यक्षमा धेरै मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। 

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर भएको पाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। आयोगका सूचना अधिकारी घिमिरेका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब ३ प्रतिशतको हाराहारीमा मत बदर भएको छ। तर प्रत्यक्षतर्फ भने यो संख्या ५ प्रतिशतभन्दा माथि छ।

‘अहिले आएको मत परिणामको एउटा रफ डेटा हेर्दाखेरि हामीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ अलिकति बढी मत बदर भएका र समानुपातिक निर्वाचन प्रणालीतर्फ अलि कम संख्यामा मत बदर भएको अवस्था देखिन्छ,’ घिमिरेले भने, ‘करिब ५ प्रतिशतभन्दा बढी संख्यामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मत बदर भएको देखिन्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब ३ प्रतिशतको हाराहारीमा मत बदर भएको अवस्था देखिन्छ।’

बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्युनिकरण गर्ने उद्देश्यले यसपटक प्रभावकारी रुपमा मतदाता शिक्षा सञ्चालन गरिएको थियो। तर प्रारम्भिक तथ्यांकले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन नसकेको देखाएको छ।

अहिलेसम्म जिल्लाजिल्लाबाट आएको रिपोर्टका आधारमा मत बदरका विभिन्न प्रक्रिया रहेको उनले बताए। सबैभन्दा बढी दुई ठाउँमा छाप लगाउँदा मत बदर भएको देखिएको उनको भनाइ छ। 

‘अहिले प्रारम्भिक रुपमा आयोगले अध्ययन गर्दाखेरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतदाताले दुई वटा चिह्नमा मतदान गरेको अवस्था अथवा मत संकेत गरेको अवस्थामा अलि बढी मतहरू बदर भएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ घिमिरेले भने। 

आयोगको प्रारम्भिक अध्ययनअनुसार प्रत्यक्षतर्फ एउटै मतपत्रमा मतदाताले दुई वटा चुनाव चिह्नमा छाप लगाएका कारण धेरै मत बदर भएको पाइएको छ। एउटा मात्र उम्मेदवार छान्नुपर्ने मतपत्रमा दुई वा सोभन्दा बढी चिह्नमा मत संकेत गर्दा मतपत्र स्वतः बदर हुन्छ। 

यद्यपि बदर मतको वास्तविक प्रकृति र कारणबारे आयोगले विस्तृत अध्ययन गरिरहेको छ। यसका लागि मतदान अगाडि नै जिल्ला कार्यालयलाई अध्ययन गर्न अनुरोध गरिएको र सोको रिपोर्ट आएपछि थप तथ्य बाहिर आउने घिमिरेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad