निर्माणाधिन नयाँ संसद् भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठक संसद् परिसरकै बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रतिनिधि सभाको बैठक नयाँ निर्माणाधीन संसद् भवन परिसरमै बस्ने भए पनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको गिरीको भनाइ छ।
‘प्रतिनिधि सभाको बैठक नयाँ निर्माणधीन संसद् भवनमा नै बस्ने हो। नेपाल सरकारले प्रतिनिधि सभाको लागि निर्माण गर्दै गरेको हल, प्रतिनिधि सभा सदस्यको बैठक कक्ष चैत १ गतेसम्ममा सचिवालयलाई हस्तान्तरण गर्ने भन्ने थियो। यदपी पछिल्लो समयमा चैत १ गतेभित्र उक्त हल निर्माण भईसक्ने देखिएन,’ गिरीले भने, ‘त्यसकारण सचिवालयले सहरी विकास मन्त्रालय एवं निर्माण व्यवसायीसँग समेत समन्वय गरेर तत्कालको लागि बन्दै गरेको संसद् परिसरभित्र नै रहेको बहुउद्देशीय हललाई व्यवस्थापन गर्न भनिएको छ।’
सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष आउँदो चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो। तर पछिल्लो प्रगति हेर्दा त्यो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको सचिवालयका प्रवक्ता गिरीले बताए। सहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको उनले जानकारी दिए।
‘अहिले बहुउद्देशीय हलमा शपथग्रहण गराउने र प्रतिनिधि सभाका केही प्रारम्भिक बैठक समेत बस्ने गरि कार्यसम्पादन भइरहेको छ। यो अस्थायी व्यवस्थापन हो,’ उनले भने, ‘प्रतिनिधि सभाको सभाकक्ष निर्माण भइसकेपछि प्रतिनिधि सभाकै सभाकक्षमा बैठक बस्छ। तत्कालको लागि यो अल्पकालिन व्यवस्थापन गरिएको हो।’
प्रवक्ता गिरीका अनुसार बहुउद्देश्यीय हलमा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराउने र केही प्रारम्भिक बैठकहरू सञ्चालन गर्नेगरी व्यवस्थापन भइरहेको छ। प्रतिनिधि सभाको सभाकक्ष निर्माण सम्पन्न भएपछि बैठकहरू सोही सभाकक्षमा बस्ने उनले बताए।
बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केही प्राविधिक काम मात्र बाँकी रहेकोले ती कार्य शिघ्र सम्पन्न गर्नेगरी काम भइरहेको उनले जानकारी दिए।
सचिवालयले नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको छ। बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण वा संसद् बैठक रोकिने अवस्था नआउने उनको भनाइ छ।
‘बैठक कक्षकै अभावमा शपथ रोकिने अथवा प्रतिनिधि सभाको बैठक नचल्ने भन्ने हुँदैन। बहुउद्देशीय हलको निर्माण कार्य अन्तिम चरणमा नै पुगेको छ। केही प्राविधिक पक्षहरू बाँकी छन्, त्यो पनि शिघ्र सम्पन्न गर्नको लागि सचिवालयले नियमित रुपमा अनुरोध गरिरहेको छ,’ उनले भने, ‘स्थलगत अनुगमन पनि गरिरहेको छ, आवश्यक समन्वय पनि गरिरहेको छ। हलकै कारणले प्रतिनिधि सभाको सदस्यको शपथ र बैठक बाधा पुग्ने अवस्था सम्भवतः आउँदैन।’
यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा आगजानी भएपछि बैठक बस्नको लागि समस्या भएको हो। राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ।
सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ। २०७९ असोज १६ गतेभित्र निर्माण गरिसक्ने गरि २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो। तर २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन।
संसद् भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिसकेको छ। संसद् भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी-श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो। यी सबैको ठेक्का सम्झौता सकिएको भए पनि काम पूरा हुन सकेको छैन।
Shares

प्रतिक्रिया