प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ।
अहिलेसम्मको मत परिणामअनुसार रास्वपा उम्मेदवार यहाँका चारवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
धनुषा ३ बाट रास्वपाका मनिष झा भारी मतान्तरले विजयी भएका छन्।
झाले ४३ हजार ९८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ९५२ मत मात्र ल्याउन सके।
त्यसैगरी महोत्तरी १ बाट रास्वपाका प्रमोद महतो विजयी भएका छन्। महतोले ३४ हजार ३३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्।
यस्तै बारा ३ बाट रास्वपाका उम्मेदवार अरविन्द साह ४० हजार ६५७ मत ल्याई विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।
मन्सुर नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन्।
त्यसैगरी पर्सा १ बाट रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भएका छन्। उनले २७ हजार २७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रदीप यादवले १३ हजार ३० मत मात्र ल्याउन सके।
मधेश प्रदेशमा रास्वपाले हासिल गरेको यो सफलताले परम्परागत रूपमा बलियो मानिने नेपाली कांग्रेस, एमाले तथा अन्य दलहरूको पकड कमजोर बनेको देखिएको छ।
परिवर्तनको अपेक्षा, सुशासनको एजेन्डा तथा नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणका कारण मतदाताले रास्वपालाई समर्थन गरेको विश्लेषण गरिँदैछ।
Shares

प्रतिक्रिया