प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको छ। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार विपीन आचार्यले एमालेका महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पछाडि पारेका हुन्।
घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ६ सय ९ मत गणना हुँदा आचार्यले ५ हजार ९ सय ७४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका पोखरेलले २ हजार ४ सय ९४ मत पाएका छन्। आचार्य र पोखरेलबीचको मतान्तर ३ हजार ४ सय ८० रहेको छ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे १ हजार ६ सय मतका साथ तेस्रो स्थानमा छन् । यस क्षेत्रमा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६ सय २६ मत खसेको थियो।
दाङ–२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका प्रभावशाली नेता पोखरेल र सत्तारुढ गठबन्धनका घिमिरेलाई पछि पार्दै रास्वपाका युवा उम्मेदवार आचार्यले लिएको अग्रतालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
Shares

प्रतिक्रिया