अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबारे सोधिएको प्रश्नमा फेरि एकपटक पत्रकारसँग झोक्किएका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्।
अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।
बोल्दाबोल्दै ट्रम्प अचानक पिठ्युँ फर्काएर हिँडे र पत्रकार सम्मेलन अन्त्य गरे।
अप्रिल २७ पछि पहिलोपटक दैनिक पत्रकार सम्मेलनमा उपस्थित भएका ट्रम्पलाई सीबीएस न्युजकी पत्रकार वइजी जियाङले किन हरेक दिन अमेरिकामा कोरोनाबाट संक्रमण र मृत्यु हुने क्रम रोकिएको छैन नि भनेर प्रश्न गर्दा ट्रम्पले झोक्किँदै भने, ‘यो प्रश्न मसँग होइन, चीनसँग सोध।’
यति भनिसकेपछि ट्रम्पले सीएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्न गर्न आग्रह गरे। त्यस क्रममा जियाङले फेरि सोधिन्, ‘सर, तपाईंले मलाई नै किन यस्तो भनिरहनुभएको छ?’ जवाफमा ट्रम्पले भने, ‘मैले तिमीलाई मात्रै भनेको होइन, यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हुँ।’
त्यसपछि सीएनएनकी पत्रकार कोलिन्सले प्रश्न गर्न खोजिन्, तर ट्रम्पले वास्तै नगरेर अर्कै पत्रकारलाई प्रश्न गर्न आग्रह गरे। तैपनि उनले प्रश्न गर्न खोजिरहिन् तर ट्रम्प पत्रकार सम्मेलन नै छाडेर हिँडे।
हेराैँ लाइभ भिडियाे:
प्रतिक्रिया