देशैभर बिहीबार धमाधम मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार शान्तिपूर्ण मतदान चलिरहँदा युवा, महिला, वृद्धवृद्धादेखि किरियापुत्रीसम्म उत्साही भएर सहभागी भएका छन्।
भक्तपुर क्षेत्र नम्बर २ का ८६ वर्षीय मतदाता कमलप्रसाद निरौला पनि बोडेमा बिहान ११ बजे श्रीमतीसहित मतदानमा सहभागी भए।
‘पञ्चायतभन्दा डर अहिलो भोट हाल्दा हुने रहेछ’, मतदानपछि निरौलाले नेपालखबरसँग भने, ‘अहिले त जताततै सेना पुलिसहरु भेटिन्छन्, पञ्चायतमा त एक जनाले लाइन मिलाएर भोट खासाल्न गइन्थ्यो नि!’
उनले यसपटक ८० वर्षीय श्रीमती अम्बिकासँगै सल्लाह गरेरै उम्मेदवार छनौट गरेको बताए।
‘हामी त बुुढाबुढी सँगै बात मार्दै गयौँ अनि एकै ठाउँमा बसेर छाप लगायौँ’, उनले ठट्टा गर्दै भने, ‘उनले (मतपत्र) देखाइन्, मैले हेरेँ अनि बाकसमा सँगै हालेर निस्क्यौँ।’
उनलाई नयाँ वा पुरानो दल एकै भएर देश चलाएको हेर्न मन छ।
‘सबैले नयाँलाई दिनुपर्छ भनेका थिए, हामीले चाहिँ नयाँ र पुराना दुवैलाई एक एक भोट दिएर आयौँ’, उनी पुरानाको अनुभव लिएर नयाँले देश चलाउनुपर्ने बताउँछन्।
‘दुई जनालाई दिनुपर्ने रहेछ, पुरानाले जानेका छन्। उनीहरुको अनुभव लिएर नयाँले देश चलाए त केही राम्रो होला भनेर मिलाएर हाल्यौँ’, उनले मतदान अनुभव सुनाए।
उनी देश विकास हुँदै जाँदा जनता र नेताहरुमा अनुशासन हराउँदै गएकोमा चिन्तित छन्।
‘अहिले त मतदाता र नेता दुवै उस्तै छन्, दुवैले पुलिसले भनेको मान्दैनन्’, उनी थप्छन, ‘त्यो बेला भोट दिँदा न झगडा हुन्थ्यो, न लडाइँ नै, तर अहिले पुलिस, सेना राखेर पनि झगडा गर्छन्, अनुशासन कसैमा छैन।’
भक्तपुर क्षेत्र नम्बर २ मा उनले योसहित गरेर दुई पटक संसदीय चुनावमा भोट हाले।
यो पटक लाइन नबसी सिधै बुढाबुढी गएर भोट हाल्दा धेरै गाह्रो नभएको उनी सुनाउँछन्।
‘हामी दुवै बुढाबुढीलाई कर्मचारीले हात समाएर छाप लगाउने ठाउँमा लगे, मैले यो चिह्नमा छाप लगाइदिनु भनेपछि उनीहरुले त्यसैमा लगाइदिए। बुढीलाई पनि मैले त्यसै भनेँ, हामी दुवैले एक अर्काको छाप हेरेर भोट खसाल्यौँ।’
उनकी श्रीमती अम्बिकाले पनि यस पटक नयाँ अनुहारहरु देखिन्।
श्रीमानकै कुरामा थप्दै उनले भनिन्, ‘अब युवाहरु उठेका छन् भन्ने सुनेको छु। देशमा अनुशासन ल्याउलान् नि!’
पञ्चायतदेखि भोट हालेको अनुभव
८५औँ वसन्त पार गरेका निरौलाले नेपालमा पञ्चायत व्यवस्था देखे, २०४५/४६ सालमा भएको पहिलो जनआन्दोलन र १० वर्षे जनयुद्धपछि ०६२/०६३ को दोस्रो जनआन्दोलन भोगे।
दोस्रो जनआन्दोलनसँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको थियो।
अन्तरिम नै भए पनि पहिलो पटक भौतिक रुपमा मतदान नगरी बनेको सरकार पनि उनले देखे। यो अवधिमा भएका चुनावहरु प्रत्यक्ष अनुभव गरेका उनलाई यो पटकको चुनावले अहिले धेरै आशा जगाएको छ।
‘बुढेसकालमै भए पनि एकपटक युवाहरुले देश बनाएको हेर्न मन छ’, उनले भने।
उनी पार्टीमा मात्रै नभएर व्यक्ति पनि हेर्नुपर्ने बताउँछन्।
‘पहिले त अहिलेजस्तो धेरैवटा पार्टीहरु नै हुँदैनथे, त्यसमा पनि हामी आफ्नो ठाउँ कसले विकास गर्न सक्छ भन्ने चिनेर व्यक्तिलाई हाल्थ्यौँ, अब पनि त्यसै गर्नुपर्छ’, उनले भने।
‘उम्मेदवारको कुरा सुन्न पाइनँ’
निरौलासँग यो मतदानबाट जति आशा र अपेक्षा छ, त्यति नै असन्तुष्टि पनि छन्। उनले यो चुनावमा उठेका आफ्नै उम्मेदवारसँग भेटेर उनीहरुको कुरा सुन्न पाएनन्। यसमा उनी सन्तुष्ट छैनन्।
घर–घरै आएर आफूहरुलाई योजना सुनाउँदै भोट माग्नुपर्नेमा कोही पनि नआएको गुनासो गर्छन् निरौला।
‘घरमा आएर मतदातालाई योजना सुनाएर भोट माग्नुपर्ने यो पटक कोही भोट माग्नै आएनन्’, उम्मेदवारहरु घरदैलोभन्दा बढी सामाजिक सञ्जाल केन्द्रित भएपछि मतदाताको गुनासोबाट टाढिँदै गएकोमा उनी उति खुसी छैनन्।
बरु नेतृत्व जनतासँग नजिक नै रहिरहनुपर्ने धारणा राख्छन् निरौला। भन्छन्, ‘घरघरमा पुगेर मतदाताको गुनासो सुन्ने खालको नेतृत्व भए हामीलाई आफूले दिएको भोट काम लाग्यो भन्ने लाग्ने थियो।’
Shares

प्रतिक्रिया