मोरङको सुनवर्षी नगरपालिकामा निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्ने एक सहायक मतदान अधिकृत पक्राउ परेका छन्। सुनवर्षी–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको मतदान केन्द्र (ग) मा खटिएका सहायक मतदान अधिकृत रञ्जित शिवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङका प्रहरी प्रमुख एसपी कोवित कटवालका अनुसार शिवालाई बुधबार रातिदेखि नियन्त्रणमा लिइएको हो। उनले निर्वाचनको पूर्वतयारी भइरहेका बेला मुख्य अधिकृतसँग विवाद र अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
मोरङ, सुनवर्षी-६ स्थित पटियापाडा माध्यामिक विद्यालयका सहायक मतदान अधिकृतले मतदान अधिकृतलाइ दुर्व्यवहार गरेको कुरा पटियापाडा माबि, सुनवर्षी नगरपालिका ६ का मतदान अधिकृतले पुष्टि गरे। ‘शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउने हाम्रो जिम्मेवारी हो। उहाँले अभद्र व्यहवहार गर्नुभयो’, मतदान अधिकृत यदीबहादुर श्रेष्ठले नेपालखबरसँग भने।
'मैले पहिला पनि चुनाव गराएको हुँ, यहाँ माछा–बियर खोइ!' बुधबार दिउँसो मात्र मतदान केन्द्र पुगेका शिवाले काममा सघाउनुको साटो उल्टै अभद्र पारा देखाउन थालेका थिए। त्यहाँ उपस्थित निर्वाचन अधिकृतलाई हप्काउँदै भनेका थिए, 'मैले पहिला पनि चुनाव गराएको हुँ। त्यतिबेला माछा र बियर खुवाउँथे, यहाँ के–के व्यवस्था छ?'
राति उनले निर्वाचन टोलीलाई आफ्नो आदेशको भाषा सुनाएका थिए। 'मेरो बिहान ढिलोसम्म सुत्ने बानी छ, तिमीहरू आफैँ उठेर काम गर्दै गर्नु,' भन्दै उनले काममा संलग्न हुन अस्वीकार गरेका थिए।
सम्झाउँदा झन् आक्रामक
निर्वाचन अधिकृतले पूर्वनिर्धारित योजनाअनुसार काम गर्नुपर्ने र समयमै तयारी सक्नुपर्ने बताएपछि विवाद झन् बढेको थियो। पटियापाडा मावि केन्द्र अन्तर्गत तीनवटा मतदान स्थल रहेका छन्। तीनै केन्द्रका अधिकृतहरूले उनलाई सम्झाउने प्रयास गरेका थिए। तर, शिवाले आक्रामक व्यवहार देखाएपछि स्थिति असामान्य बनेको थियो।
प्रहरी प्रमुख कटवालका अनुसार मतदान प्रक्रियालाई शान्तिपूर्ण रूपमा अगाडि बढाउन बाधा पुग्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। 'मादक पदार्थ सेवन, भौतिक आक्रमण वा कुटपिट नै भन्न मिल्दैन, यति भनौँ उनले अभद्र व्यवहार देखाएका हुन्,' कटवालले नेपालखबरसँग भने, 'अनुसन्धान जारी छ।'
सहायक मतदान अधिकृत पक्राउ परेको स्थान नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र एमालेका दीलिप बगडिया उम्मेदवार भएको मोरङ क्षेत्र नम्बर २ हो। उनी रंगेलीस्थित नेपाल विद्युत् प्राधिकरणका सहायक तहका कर्मचारी हुन्। उनको स्थानमा अर्को कर्मचारी खटाएर मतदान प्रक्रिया अघि बढाइएको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया