प्रतिनिधि सभाको निर्वाचनमा मत पेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको निर्वाचन आयोगले जनाएको छ।
बुधबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको चुनावको तयारीबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान भइसकेपछि ढुवानी गर्ने वेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताएका छन्।
‘धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मत पेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन्। मत पेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन,’ भण्डारीले भने।
ढुवानी गर्दा मत पेटिका परिवर्तन गर्न सक्ने अवस्था पनि नरहेको उनको भनाइ थियो। मतदान सम्पन्न भएपछि सबै दलका प्रतिनिधिले लाहा छाप लगाउने बताए। त्यसपछि मत गणनाका लागि मत पेटिका खोल्दा पनि त्यो लाहा छाप हेरिने भएकाले परिवर्तन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो।
विगतमा झै यस पटक पनि सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए। ‘निर्वाचन सुरक्षामा परिवर्तन गरेका छैनौँ। कुनै परिवर्तन भएको छैन। पहिलो घेरमा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरमा सेना रहन्छ,’ भण्डारीले भने।
दुर्गमका मत पेटिका ढुवानी गर्न भने सेनाका साधन प्रयोग गरिने उनले बताए। केही जिल्लाका निर्वाचन केन्द्रबाट मत पेटिका ढुवानी गर्न सेनाको हेलिकप्टर प्रयोग गरिने भण्डारीले जानकारी दिए।
Shares

प्रतिक्रिया