नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा भ्रामक सूचना आएमा रिपोर्ट गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सभापति थापाले यस्तो निर्देशन दिएका हुन्। निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत आफूलगायत कांग्रेसका उम्मेदवारविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडिओ सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाउने काम भइरहेको उनको भनाइ छ।
यो केवल आचारसंहिताको उल्लङ्घन मात्र नभइ लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भन्दै यस्ता गलत र भ्रामक सूचनाविरुद्ध सचेत सहभागिता अत्यन्त आवश्यक भएको सभापति थापाले बताए। उनले भनेका छन्, ‘त्यसैले फेसबुक, टिकटक र युट्युबलगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै रिपोर्ट गर्नुहोस्।’
कुनै सामग्री शेयर गर्नुअघि एकछिन रोकिएर सत्यता जाँच गर्न उनको आग्रह छ। ‘अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्छ। सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ,’ उनले भनेका छन्।
कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आजै विज्ञप्ति जारी गर्दै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि कडा कारबाहीको माग गरेका थिए।
Shares

प्रतिक्रिया