यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका ९ जिल्लामा १८ अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।
१८ मतदान केन्द्रमा कुल २८ हजार ५१ अस्थायी मतदाता रहने बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाले जनाएको छ। कारागार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र शैक्षिक संस्थाका परिसरमा अस्थायी केन्द्र तोकिएका छन्।
सबैभन्दा बढी अस्थायी मतदाता काठमाडौँमा रहेको बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।
उनका अनुसार काठमाडौँमा ६ वटा मतदान केन्द्रमार्फत ७ हजार ६७५ मतदाताले मतदान गर्नेछन्।
काठमाडौँ महानगरपालिका–३० स्थित कारागार कार्यालय डिल्लीबजार, काठमाडौँ महानगरपालिका–११ स्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित सशस्त्र प्रहरी बल नेपाल, हल्चोक, काठमाडौँ महानगरपालिका–११ स्थित भद्रकाली परिसर तथा जिल्ला प्रशासन कार्यालय (क) र (ख) मा केन्द्र तोकिएको छ।
ढकालका अनुसार धादिङमा कारागार कार्यालय, नीलकण्ठ नगरपालिका–३ मा १ केन्द्रमार्फत २ हजार ७९६ मतदाता रहनेछन् भने नुवाकोटको केन्द्रीय कारागार, खम्पाक्याम्पमा १ केन्द्रबाट २ हजार ५२६ मतदाताले मतदान गर्नेछन्।
भक्तपुरमा भक्तपुर नगरपालिका–१ मा रहेको भक्तपुर बहुमुखी क्याम्पसमा १ केन्द्रमा २ हजार ३४ मतदान गर्नेछन्।
ललितपुरमा कारागार कार्यालय, नख्खु र नमुना महेन्द्र माध्यमिक विद्यालय, लगनखेलमा २ केन्द्रमा २ हजार ५४९ मतदाता रहने निर्वाचन अधिकारी ढकालले जानकारी दिए।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित कारागार कार्यालयमा १ केन्द्रबाट २ हजार ४८१ मतदाता सहभागी हुनेछन् भने सिन्धुपाल्चोकमा कारागार कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी २ केन्द्रमा १ हजार ५२५ मतदाता रहेका छन्।
यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित क्षेत्रीय कारागार कार्यालय र जिल्ला प्रशासन कार्यालय, मकवानपुरको २ केन्द्रमार्फत ३ हजार ३०७ मतदाता तोकिएका छन्। चितवनमा जिल्ला कारागार कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा २ केन्द्रबाट ३ हजार १५८ मतदाता मतदानमा सहभागी हुनेछन्।
प्रदेशभर स्थापना गरिएका यी अस्थायी मतदान केन्द्रहरूमा कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा तोकिएका अन्य अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। उनीहरुले समानुपातिक मतपत्रमा मतदान गर्न पाउनेछन्।
Shares

प्रतिक्रिया