नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउने संकल्प लिएको बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको बताए। उनी प्रतिनिधि सभाको चुनावमा रुपन्देही–२ बाट उम्मेदवार बनेका छन्।
‘मेरो उम्मेदवारी समग्रतामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा, समृद्धि र सामाजिक न्यायको यात्रामा मुलुकलाई अगाडि बढाउनका लागि हो। राजनीतिक स्थायित्व र सुशासनका लागि हो,’ उनले भने।
मुलुकमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उनले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताए।
‘समृद्धि यसै प्राप्त हुँदैन, सामाजिक न्याय यसै प्राप्त हुँदैन, त्यसका निम्ति सही सोच, सही दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ। त्यस हिसाबले मेरो उम्मेदवारी यी उद्देश्यहरू हासिल गर्नका लागि हो,’ पौडेलले भने।
रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफू सफल भएको दाबी गरे। ‘रुपन्देही जिल्लालाई देशकै पूर्वाधार विकास र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन सकेका छौँ। गर्व गर्न लायक धेरै ठूला पूर्वाधारका आयोजना सम्पन्न भएका छन् या त निर्माणाधिन अवस्थामा छन्,’ उनले भने।
अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको बताए। यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजना सुरु गर्ने उनको भनाइ छ।
‘मेरो उम्मेदवारी निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्नका लागि हो, निर्माणाधिन अवस्थामा रहेका आयोजनाको प्रभावकारी ढंगले कार्यान्वयनका लागि हो र अरु केही नयाँ ठूला आयोजना सुरुवात गर्नका लागि हो,’ पौडेलले भने।
Shares

प्रतिक्रिया