ग्लोबल


कुवेतमा अमेरिकी लडाकु जहाज खसालियो, दूतावासमा धुवाँको मुस्लो

कुवेतमा अमेरिकी लडाकु जहाज खसालियो, दूतावासमा धुवाँको मुस्लो

नेपालखबर
फागुन १८, २०८२ सोमबार १५:०, काठमाडौँ

इरान र इजरायलबीच बढ्दो सैन्य मुठभेडका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै नाजुक मोडमा पुगेको छ।  शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको भीषण आक्रमणपछि यस क्षेत्रमा युद्धको बादल मडारिएको छ। विशेष गरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्युको खबरले क्षेत्रीय शक्ति सन्तुलनमा हलचल पैदा गरेको छ।

यसै तनावपूर्ण वातावरणबीच सोमबार बिहान कुवेतमा धेरै अमेरिकी लडाकु विमानहरू जमिनमा खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार विमानमा रहेका चालक दलका सदस्यहरू सुरक्षित छन्। उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ। मन्त्रालयले भनेको छ, "हामी हाम्रा अमेरिकी सहयोगीहरूसँग घटनाको परिस्थिति र कारणबारे निरन्तर संवादमा छौँ, यसबारे थप अनुसन्धान जारी छ।"

यसैबीच, कुवेतस्थित अमेरिकी दूतावास परिसर वा त्यसको आसपासबाट धुवाँको मुस्लो देखिएको समाचार एजेन्सी एएफपी र रोयटर्सले जनाएका छन्। दूतावासले आफ्ना नागरिकहरूका लागि आकस्मिक सुरक्षा 'अलर्ट' जारी गर्दै सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ।

कुवेतस्थित अमेरिकी राजदूतावासको पृष्ठभूमिमा धुँवाको मुस्लो देखिन्छ।

दूतावासको आधिकारिक वेबसाइटमा जारी गरिएको चेतावनीपूर्ण सन्देशमा भनिएको छ, "दूतावास नआउनुहोस् । आफ्नो घरको सबैभन्दा तल्लो तलामा बस्नुहोस्, झ्यालहरूबाट टाढा रहनुहोस् र बाहिर ननिस्कनुहोस्।" अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई सम्भावित थप आक्रमणहरूका लागि तयार रहन र सुरक्षा योजना बनाउन समेत आग्रह गरेका छन्। दूतावासले आफ्ना कर्मचारीहरू 'आफ्नो स्थानमा सुरक्षित रहेको'स्पष्ट पारेको छ।

शनिबार इरानमाथि भएको आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि भएसँगै इरान समर्थित समूहहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र दूतावासहरूलाई निशाना बनाउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। खामेनीको मृत्युपछि इरानले लिने 'कडा बदला' को नीतिका कारण यो क्षेत्र थप अस्थिर बन्ने निश्चित देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad