राजनीति


सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपालखबर
फागुन १८, २०८२ सोमबार १४:८, काठमाडौँ

निर्वाचन र चाडपर्वका बेला आर्थिक कारोबार ठप्प हुन नदिन र सरकारी राजस्व संकलनलाई सहज बनाउन केन्द्रीय बैंकले विशेष व्यवस्था गर्ने गरेको छ। विशेष गरी निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारहरूको बैंकिङ कारोबार बढ्ने भएकाले सार्वजनिक बिदाका दिन पनि बैंकका काउन्टरहरू खुला राख्ने अभ्यास रहँदै आएको छ।

यसै सन्दर्भमा, नेपाल राष्ट्र बैंकले आगामी सार्वजनिक बिदाका दिनहरूमा पनि बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै होली पर्व र २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन समेत बैंकका कार्यालयहरू खुला राख्न भनेको हो।

राष्ट्र बैंकका अनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले राजस्व दाखिला र भुक्तानीको व्यवस्था मिलाउनुपर्नेछ। 'निर्वाचन प्रचारप्रसारका लागि खोलिएका खाताहरूको सञ्चालन, राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक जम्मा र भुक्तानी लगायतका अत्यावश्यक सेवा रोकिनु हुँदैन,' राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

आयोगले तोकेको खर्च सीमाभित्र रहेर उम्मेदवारहरूले गर्ने खर्चको पारदर्शी अभिलेखका लागि बैंक खाता अनिवार्य गरिएको छ। बिदाको दिनमा पनि नेपाल क्लियरिङ हाउस मार्फत हुने विद्युतीय चेक क्लियरिङ र आरटिजीएस सेवालाई आंशिक रूपमा सुचारु राख्न समन्वय गरिएको छ।

फागुन मसान्त नजिकिँदै गर्दा सरकारी कर र भन्सार राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै 'काउन्टर' हरू तोकिएको समयसम्म खुला रहनेछन्। बैंकहरूले आफ्ना मुख्य शाखाहरू र बढी कारोबार हुने केन्द्रहरूमा कर्मचारी खटाएर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध गराउनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad