प्रतिनिधि सभाको निर्वाचनका लािग गोरखा-२ मा नेपाली कांग्रेस र डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले संयुक्त रुपमा घरदैलो अभियान सञ्चालन गरेको छ।
गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको प्रलोपाले अहिले संयुक्त रुपमा चुनावी प्रचारप्रसार थालेको हो। प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ।
प्रचार अभियानमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘रुख’ चिह्नमा मत मागिरहेको छ भने प्रलोपाले प्रत्यक्षतर्फ ‘रुख’ र समानुपातिकतर्फ ‘आँखा’ चिह्नमा मतदान गर्न अनुरोध गरिरहेको छ।
संयुक्त टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट ‘सरोज’, अमृत आचार्य र जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन्। कांग्रेसका तर्फबाट उम्मेदवार दवाडी अभियानमा सहभागी भएका छन्।
प्रचारका क्रममा अध्यक्ष खत्रीले विगतमा कांग्रेसले ‘आँखा’ चिह्नमा सहयोग गरेको प्रसंग स्मरण गराउँदै यसपटक ‘रुख’ चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। स्थानीय तह र प्रदेश तहसम्म कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै मतदातालाई गठबन्धनको पक्षमा उभिन अनुरोध गरेका छन्।
२०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्तिलाई कांग्रेसले सहयोग गरेको थियो भने डा. बाबुराम भट्टराई सांसद निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया