झण्डै ९ वर्ष भरतपुर महानगरको नेतृत्व सम्हालेकी रेनु दाहालले आफ्नो कार्यकालका १० वटा बजेटमध्ये ९ वटा आफ्नै नेतृत्वमा ल्याउन सफल भइन्। स्थानीय तहमा विकासको एउटा मोडल स्थापित गरेपछि उनलाई अब केन्द्रमा गएर काम गर्ने चाहना पलाएको छ।
फागुन २१ मा हुने निर्वाचनमा चितवन ३ बाट उम्मेदवारी दिएकी उनी केन्द्रमा गएर चितवनको विकासका लागि थप काम गर्ने रहर रहेको बताउँछिन्।
आइतबार बिहान चितवनस्थित उनकै निवासमा पुगेको नेपालखबर टिमसँग ‘तत्कालै’मा गफिँदै उनले भनिन्, ‘स्थानीय तहबाट गर्नुपर्ने कामहरू मैले गरेँ। अब केन्द्रमा गएर अझ बढी सिङ्गो चितवन जिल्लालाई देशको एउटा केन्द्रीय राजधानीको रूपमा, केन्द्रीय सहरको रूपमा, आर्थिक विकासको केन्द्र, व्यापारिक केन्द्र र रोजगारीको थलोका रूपमा विकास गर्ने सपना देखेर उम्मेदवारी दिएकी हुँ।’
कार्यकाल सकिनु केहीअघि मेयर पदबाट राजीनामा दिनुको कारण खुलाउँदै उनले थपिन्, ‘कार्याकल सकिन १ वर्ष बाँकी रहने र उपनिर्वाचन नहुने अवस्था भइसकेपछि उपमेयर– जो अनुभवी पनि हुनुहुन्छ– उहाँलाई जिम्मेवारी सुम्पिएर म अगाडि बढेकी हुँ। म पदमा नरहे पनि भरतपुरप्रतिको मेरो लगाव र माया उत्तिकै रहन्छ।’
अहिले देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषित भएका बालेन शाहको चर्चा छ। चितवन ३ मा रास्वपाबाट सोविता गौतम रेनुको प्रतिस्पर्धी बनेर आएकी छिन्।

देशभर देखिएको ‘घन्टी’को लहरले रेनुको क्षेत्रमा कत्तिको प्रभाव परेको छ त?
रेनुले यो लहरलाई ०७० सालको माओवादी लहरसँग तुलना गरिन्।
उनले भनिन्, ‘लहर त छ, खास गरेर सहर, बजार र सदरमुकामहरूमा छ। तर, लहरकै कुरा गर्ने हो भने ०७० सालमा माओवादीको लहर पनि यो भन्दा कम थिएन। तर, परिणाम सोचेजस्तो आएन। अहिलै उहाँहरूको बहुमत आएर एकल सरकार बनाउने स्थिति चाहिँ हुँदैन, त्यो सम्भव छैन।’
बजारमा देखिएको भिडलाई मात्रै जितको आधार मान्न नसकिने उनको तर्क छ।
उनी थप्छिन्, ‘नयाँको हाउगुजी चलेको बेलामा त्यो खालको उपस्थिति देखिनु स्वाभाविक हो, तर हाम्रो उपस्थिति पनि कम छैन। जनताले कामको मूल्याङ्कन गर्छन्।’
रेनु मेयरको उम्मेदवार बन्दै गर्दा दुवै पटक छोरीलाई जिताउन चितवनमा भाषण गर्न आउने प्रचण्ड यसपटक आएनन्। यसबारे रेनुसँग जिज्ञासा देखाउँदा आफूहरूले भिड देखाउन नचाहेको बताइन्।
‘ठूलो कार्यक्रम गरेर भिड देखाएर मात्रै पनि हुँदैन भन्ने हिसाबले हामीले यसपालि मतदाताको बीचमा पुग्ने गरी विकेन्द्रित कार्यक्रम बनायौँ,’ उनले भनिन्, ‘आवश्यकता परेको भए हामी बोलाइहाल्थ्यौँ।’
बुवाको अनुपस्थितिले केही फरक नपर्ने संकेत गर्दै उनले थपिन्, ‘बुवाको प्रत्यक्ष–अप्रत्यक्ष उपस्थिति त छ नै। उहाँकै सपोर्ट र विचारबाट हामी अगाडि बढेका हौँ।’
काठमाडौँका पूर्व मेयर बालेन शाह, धरानका हर्क साम्पाङले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहँदा रेनु भने आफूलाई संयमित रूपमा प्रस्तुत गर्न चाहन्छिन्।
‘म त्यस्तो धेरै महत्वाकांक्षा राख्ने मान्छे होइन, कर्ममा विश्वास गर्छु। अहिले नै प्रधानमन्त्रीको दाबी मेरो छैन, तर भोलि सांसद बनेर मन्त्री बन्ने स्थिति आयो भने मन्त्रीसम्म बन्न सकिएला,’ उनले भनिन्।

उनले अन्तर्राष्ट्रिय अभ्यासमा पनि मेयरहरू सिधै राष्ट्रप्रमुख वा सरकार प्रमुख भएका उदाहरण रहेको तर आफू अहिले नै त्यो दौडमा नरहेको स्पष्ट पारिन्।
भरतपुरमा गरेको विकास, सुशासन र बेरुजु कम गराएर पाएको सम्मानलाई नै उनले आफ्नो जितको मुख्य आधार मानेकी छिन्। नेकपाको देशैभरिको पोजिसनबारे उनी दाबी गर्दै भन्छिन्, ‘हामी सकेसम्म पहिलो हुने प्रतिस्पर्धामा छौँ, भएनौँ भने दोस्रो चाहिँ हामी हुन्छौँ नै। किनकि कम्युनिस्टहरूको मुख्य आकर्षणको केन्द्र हामी नै हौँ।’
चितवनबासीले आफ्नो कामको ऋण तिर्ने र थप विकासका लागि आफूलाई मतदान गर्नेमा रेनु दाहाल पूर्ण विश्वस्त देखिन्छिन्।
उनले थप के–के भनिन् त, हेर्नुहोस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया