निर्वाचन सुरक्षाका लागि दोलखामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खटाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीले नियमित कमाण्ड गर्ने दोलखामा निर्वाचन अवधिका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको हो।
त्यहाँ केही समय पहिले मात्रै जिल्ला प्रहरी कार्यालयको प्रमुखमा डीएसपी मनोज लामाले जिम्मेवारी पाएका छन्। नियमित सुरक्षा उनकै कमाण्डमा हुने भएपनि चुनावी सुरक्षा अनुगमन तथा निर्देशन लगायतका काम एसएसपी राठौरले हेर्नेछन्।
राठौर दोलखा पुगिसकेका छन्। बागमती प्रदेशकै सबैभन्दा चुनावी सुरक्षा चुनौती रहेको जिल्लामा दोलखा पर्छ। यसअघिका निर्वाचन पनि यहाँ एकैचरणमा शान्तिपूर्ण रुपमा सम्पन्न हुन सकेका थिएनन्। तर यस पटक फरक सुरक्षा नीति अपनाउँदै एसएसपीलाई नै त्यहाँ खटाइएको छ।
यसअघि दोलखामा एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा बेस स्थापना गर्ने र राठौरलाई काठमाडौँका तीन वटा निर्वाचन क्षेत्र अनुगमनको जिम्मेवारी तोकिएको थियो।
काठमाडौँ ५, ६ र ७ को जिम्मेवारी तोकिए पनि अन्तिममा राठौरलाई नै दोलखा खटाइएको हो। राठौरले यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख भएर काम गरिसकेका छन्।
देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामा दोलखालाई राखिएको छ। दोलखामा ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये १५ वटा मतदान केन्द्र मात्रै सामान्य छन्। ५२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलका रुपमा लिइएको छ। २८ वटा मतदान केन्द्र संवेदनशील छन्।
दोलखाका संवेदनशील मतदान केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्ने गरी सुरक्षा योजना बनाइएको छ। दोलखामा १ लाख ७० हजार ३२१ मतदाता रहेका छन्।
दोलाखामा यसपालि दलभन्दा बढी स्वतन्त्र उम्मेदवार छन्। १४ दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा १९ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।
प्रमुख चार दलबाट एमालेका पार्वत गुरुङ, कांग्रेसका अजयबाबु सिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल उम्मेदवार छन्।
यीमध्ये सिवाकोटी नयाँ उम्मेदवार हुन्। पार्वत गुरुङ २०७० र २०७४ सालमा पनि निर्वाचित भएका थिए। विशाल खड्का २०७४ सालमा प्रदेश सांसद बनेका थिए। रास्वपाका खरेल गएको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए।
२०७९ को निर्वाचनमा पनि दोलखामा लफडा भएको थियो। तामाकोसी र वैत्यश्वरका ४ वटा मतदान केन्द्रमा पुनः मतदान गरिएको थियो। त्यतिबेला दोलखामा पुनः मतदान हुँदा अहिले बागमती प्रदेश प्रहरी प्रमुख रहेका रेग्मीको टोली खटिएको थियो।
हरेक निर्वाचनमा दोलखामा बुथ कब्जा गर्ने गरेको आरोप दलहरूले एकअर्कालाई लगाउने गरेका छन्। यस्तै पछिल्ला हरेक चुनावमा प्रहरीले गोली चलाउनु परेको छ।
Shares

प्रतिक्रिया