नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बिच आज (फागुन १७ गते) एकता हुने भएको छ।
कांग्रेस सभापति गगन थापाले आज कांग्रेस बीपीलाई पार्टीमा समाहित गर्न लागेका हुन्।
एकताको तयारी पूरा भएको र आज समाहित हुने कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनल नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबिच एकता हुँदै छ। कुन ठाउँमा पार्टी एकता गर्ने भन्ने कुरा कांग्रेसका सभापतिले तय गर्नुहुन्छ। उहाँले तय गरेको ठाउँमा हामी पुग्छौँ।’
फागुन २१ को निर्वाचनको देशदौडहमा रहेका सभापति थापाले कांग्रेस बीपीसँगको एकताको विषयमा समन्वयन गर्न पार्टीको निर्वाचन समितिका संयोजक सीताराम केसीलाई जिम्मेवारी दिएका थिए।
कांग्रेस बीपीका वरिष्ठ नेता कर्णबहादुर मल्ल र संयोजक केसीबिच भएको छलफलबाट एकताको आधार तयार गरिएको हो।
केसीका अनुसार कांग्रेस सभापति थापा र कांग्रेस बीपीका सभापति शेरचनबिच हुने सहमतिपछि एकता घोषणा हुनेछ।
‘२०७४ मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीजस्तै गरी आज एकताको घोषणा हुनेछ। जिम्मेवारीको कुरा पार्टी समायोजन प्रक्रियाले टुंग्याउने छ। दुई जना बसेर टुंग्याउनुहुन्छ होला’, उनले नेपालखबरसँग भने।
कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु राखेको थियो। गत पुस १३ मा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको दोस्रो दिन देउवा निवास महाराजगन्ज पुगेर कांग्रेस बीपीका नेताहरूले कांग्रेसमा समाहित हुन चाहेको बताएका थिए।
तर कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद चर्किएपछि एकता रोकिएको थियो।
गत पुसमा विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि कांग्रेस बीपीका नेताहरूले फेरि एकता संवाद अगाडि बढाएका थिए। त्यसअनुसार आज एकता घोषणा गर्न लागिएको हो।
चुनावको मुखमा कांग्रेसमा समाहित हुन लागेको कांग्रेस बीपीका संगठन ५४ जिल्ला र सातै प्रदेशमा छ।
बीपी कांग्रेसको १५१ सदस्यीय केन्द्रीय समिति रहेकामा अहिले १२२ जना मात्र यसमा छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य यसअघि नै कांग्रेसमा प्रवेश गरिसकेका छन्।
डडेल्धुरामा भने वडा तहसम्मै बीपी कांग्रेसको संगठन छ।
जिल्लाका ५२ वटै वडा, सात पालिका, दुईवटा प्रदेश र जिल्ला कार्यसमिति रहेको कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्लको दाबी छ।
उनका अनुसार सभापति शेरचनको जिल्ला मुस्ताङ र काठमाडौँमा पनि कांग्रेस बीपीको संगठन तल्लो तहसम्म छ। २०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस (बीपी) ले करुवा चुनाव चिह्नमा १२ हजार ५०२ मत पाएको थियो।
कोसी प्रदेशमा २ हजार ५८, मधेसमा २ हजार ६ सय २२, बागमतीमा ३ हजार ७ सय १४, गण्डकीमा ७ सय ९१, लुम्बिनीमा १२ सय ८८, कर्णालीमा ५३८ र सुदूरपश्चिममा ६ हजार ९ स ७९ मत पाएको थियो।
नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्ण मल्ल प्रवेश भएपछि डडेल्धुरामा नेपाली कांग्रेस बीपीको राम्रो जनमत देखिन्छ। मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए।
डडेल्धुराको प्रदेशसभा २ मा नेपाली कांग्रेस बीपीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार तारा जोशीले कांग्रेसका गोविन्द बोहरालाई पराजित गरेका थिए। प्रदेशसभा सदस्यमा ११ हजार १६१ मत ल्याएर विजयी भएका जोशी अहिले डडेल्धुराबाट रास्वपाको उम्मेदवार छन्।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बीपीले डडेल्धुरामा दुई वटा वडाध्यक्ष जितेको थियो। अमरगढी नगरपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेस बीपीका नरबहादुर साकी र तत्कालीन कांग्रेस सभापति देउवाको गृहवडा गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षमा नरेश भण्डारी विजयी भएका थिए।
कांग्रेस बीपीलाई विलय गराउँदा कांग्रेसलाई केही हजार मत समानुपातिकमा थपिए पनि मुख्य राहत कांग्रेस उम्मेदवार नैनसिंहलाई नै हुने देखिन्छ। गत निर्वाचनमा कांग्रेसले डडेल्धुरामा समानुपातिकतर्फ १८ हजार ५६२, एमालेको ९ हजार २१४, नेकपाको ९ हजार ३७२, कांग्रेस बीपीले ४ हजार ५१४, रास्वपाले ३ हजार ६५० र राप्रपाले १५ सय पाएको छ।
विगतको अनुकूल अंकगणितका साथ देउवाको विरासत जोगाउन महरलाई कांग्रेस र कांग्रेस बीपीको एकताले थप सहज भएको छ।
मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए भने कांग्रेस बीपीसँग एकताले समानुपातिक मत नै २३ हजार ६७ हुन पुग्छ। केन्द्रमा एकताको औपचारिक घोषणा आज हुन लागे पनि डडेल्धुरामा कांग्रेस बीपीका नेता कार्यकर्ता केही दिनदेखि नै कांग्रेस उम्मेदवार महरको चुनावी प्रचारप्रसारमा हिँडिरहेका छन्।
Shares

प्रतिक्रिया