कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ठूलो पहिरो गएको छ। पार्टी निर्माणमा रगत-पसिना बगाएका संस्थापक नेताहरूले नै नेतृत्वमाथि 'आर्थिक अपारदर्शिता' र 'पैसावालाको मात्र कदर' गरेको गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेका छन्।
आइतबार सुर्खेतमा आयोजित एक विशेष कार्यक्रममा रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको हो। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरे।
'प्राइमरी इलेक्सन' का नाममा असुली, हिसाब गायब
पार्टी छाड्दै गर्दा संस्थापक महामन्त्री विकले रास्वपाको आर्थिक कार्यशैलीमाथि प्रश्न उठाएकी छिन्। उम्मेदवार छनोट प्रक्रियालाई 'प्राइमरी इलेक्सन' नाम दिएर कार्यकर्ता र आकांक्षीबाट मोटो रकम उठाइएको तर त्यसको कतै हिसाब नभएको उनले दाबी गरिन्।
"रास्वपाले प्राइमरी इलेक्सनका नाममा ५० हजार र प्रत्यक्ष निर्वाचनका बेला २५ हजार रुपैयाँ उठाएको छ," विकले प्रश्न गरिन्, "त्यो पैसाको लेखाजोखा न जिल्लालाई थाहा छ, न प्रदेशलाई। आखिर त्यो पैसा कहाँ गयो? किन यति धेरै अपारदर्शिता? यो रहस्यमय चलखेल सहन नसकेर हामीले पार्टी छाडेका हौँ।"
उनले रास्वपामा रहेका अन्य साथीहरूलाई पनि 'भ्रम' मा नबस्न र पुरानै घर फर्कन आग्रह गरेकी छिन्।
'फिल्म त देख्न बाँकी नै छ'
"हामीले संगठन बनायौँ, तर पार्टीले युवालाई सम्मान गर्न जानेन। पैसा हुनेलाई मात्र रातो कार्पेट ओछ्याउने शैली देखियो," बस्नेतले चेतावनी दिँदै भने, "अहिले त यो ट्रेलर मात्र हो, फिल्म देख्न त बाँकी नै छ। अब वडा-वडाबाट युवाहरूको ताँती कांग्रेसमा लगाइदिन्छु।"
'नयाँको स्टन्ट सकियो' : विश्वप्रकाश शर्मा
नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ दलहरूले देखाएको 'हावा' र 'स्टन्ट' को आयु सकिएको टिप्पणी गरे। उनले कुनै पनि दल गाली र तालीले मात्र नभई स्पष्ट विचार र पारदर्शी आचरणले चल्नुपर्ने बताए।
"नयाँ दलहरूले ठूला सपना बाँडे तर न संगठन दिन सके, न संस्कार," शर्माले भने, "कर्णालीमा रास्वपाको जग बसाल्ने साथीहरू नै कांग्रेसमा आउनु भनेको नयाँको भ्रम टुट्नु र पुरानोको भरोसा बढ्नु हो।"
एकातिर नेतृत्वमाथि कानुनी संकट र अर्कोतिर तल्लो तहका नेताहरूले उठाएको आर्थिक अपारदर्शिताको प्रश्नले रास्वपाभित्रको आन्तरिक कलह सतहमा ल्याइदिएको छ। यस विषयमा रास्वपाको केन्द्र वा प्रदेश कमिटीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
Shares

प्रतिक्रिया