शान्तिपूर्ण भनिएको आन्दोलन कसरी एकाएक उग्र बन्यो? विद्यालयको पोसाकमा रहेका नाबालकमाथि गोली चलाउने आदेश कसले दियो? र, देशभर एकैसाथ संगठित आगजनी कसरी सम्भव भयो? गत भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनकी एक अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका यी प्रश्नहरूले आन्दोलनभित्रको 'अदृश्य खेल' र राज्यको 'दोहोरो मापदण्ड'लाई सतहमा ल्याइदिएको छ।
उनले आन्दोलनलाई नियतवश हिंसातर्फ धकेलिएको आशंका व्यक्त गरेकी छिन्।
‘नेतृत्वको मौनता र सन्देहास्पद सक्रियता’
पाण्डेका अनुसार आन्दोलनको सुरुवाती चरण शान्तिपूर्ण रहे पनि बिहान ९:३० बजे माइतीघरमा भएको झडप र उत्तेजित नाराबाजी 'नियोजित' देखिन्छ। विशेष गरी ‘जेन-जी’ समूहले बिहान ११ बजे नै सामाजिक सञ्जालमार्फत घुसपैठ भइसकेको भन्दै घर फर्कन आधिकारिक आह्वान गरिसक्दा पनि नेतृत्व तहले त्यसलाई किन बेवास्ता गर्यो भन्ने प्रश्न उनले उठाएकी छिन्।
"जब जोखिम स्पष्ट भइसकेको थियो, त्यसपछि पनि आन्दोलन अघि बढाइरहनु कसको निर्णय थियो?" पाण्डेले प्रश्न गरेकी छिन्, "ब्यारिकेड तोड्ने इरादा नभएका मानिसहरू संसद् भवन अगाडि कसरी पुगे? आन्दोलनको दिशा कसले बदल्यो?"
भदौ २४ को घटनामा राज्य र सुरक्षा निकायको भूमिकामाथि पाण्डेले कडा प्रहार गरेकी छिन्। भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा ७ जनाले ज्यान गुमाए पनि उनीहरूको पहिचान र मृत्युको कारणबारे राज्य अझै मौन छ। सुरक्षा संयन्त्रमाथि 'दोहोरो मापदण्ड' अपनाएको आरोप लगाउँदै उनले प्रश्न गरेकी छिन्।
"रास्वपा सभापतिलाई प्रहरीले सुरक्षित रूपमा बाहिर निकाल्ने, तर त्यही दिन १० जना बन्दीहरू प्रहरीकै गोलीबाट मारिने—यो कस्तो न्यायसंगत कार्य हो?" उनले लेखेकी छिन्, "कसैलाई सुरक्षा र कसैलाई हत्या, यो राज्यको चरम दोहोरो चरित्र हो।"
प्रतिवेदन साइनो चुनावको दाउपेचसँग
सत्य लुकाएर गरिने निर्वाचन लोकतन्त्र नभई 'व्यवस्थित भ्रम' मात्र हुने उनको दाबी छ। पाण्डेका अनुसार अहिले बहसलाई 'भदौ २३ कि २४' भन्ने मितिको जालझेलमा अल्झाएर मुख्य जिम्मेवारीबाट पन्छिने प्रयास भइरहेको छ, जुन सर्वसाधारणको ज्यानप्रति राज्यको चरम बेवास्ता हो।
Shares

प्रतिक्रिया