राजनीति


बालेन लक्षित गगनको टिप्पणी- ठेकेदारलाई उल्टो झुण्ड्याएर सडक बन्दैन, देश बन्दैन

बालेन लक्षित गगनको टिप्पणी- ठेकेदारलाई उल्टो झुण्ड्याएर सडक बन्दैन, देश बन्दैन

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १४:५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै ठेकेदारलाई उल्टो झुण्ड्याएर सडक नबन्ने टिप्पणी गरेका छन्। 

शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सडक बनाउन कानुन, नीति, नियम सहज बनाउनुपर्ने बताए। उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदारहण दिँदै पाइलटलाई कोर्रा लगाएर जहाज अवतरण नहुने बताए। 

‘हामीले यत्रो एअरपोर्ट बनाएका छौँ। यत्रा पूर्वाधार बनायौँ, यहाँ। चल्न सकिराखेको छैन। तर एअरपोर्ट कसरी चलाउने भन्ने कुरा प्लेन यहाँ ल्यान्ड गरेन भने ल्यान्ड नगर्नेलाई म कोर्राले हान्छु भनेर प्लेन ल्यान्ड गर्दैन,’ थापाले भने, ‘त्यसका कारणहरू छन्, ति कारण खोजेका छौँ हामीले। त्यसमा हामी काम गर्न चाहन्छौँ।’

उनले समयमै सडक निर्माण गर्न पनि ४१ वटा कानुन बदल्नुपर्ने बताए। आफूले अध्ययन गरेर बदल्नुपर्ने कानुनको सूची बनाएको उनको भनाइ थियो। 

‘सडक समयमा बनेको छैन। मैले सडक समयमा बन्नुपर्छ भन्नका लागि ४१ वटा कानुन बदल्नुपर्छ भन्ने प्रस्ताव तयार गरेर ल्याएर आएँ। अर्को साथी भन्नुहुन्छ– सडक समयमा बनाउँछु म। सडक समयमा नबनेपछि ठेकेदारलाई उल्टो झुण्ड्याउँछु, उल्टो झुण्ड्याएपछि सडक बन्छ,’ थापाले भने, ‘बन्दैन त्यसरी। त्यसरी कुनै देश बनेको छैन, हाम्रो पनि बन्दैन। सिस्टम बनाएनौँ, प्रणाली बनाएनौ भने बन्दैन।’

केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा वरिष्ठ नेता शाहले दुई वर्षमा बन्नुपर्नै सडक डेढ वर्षमै बनाउने जिकिर गरेका थिए। समयमै सडक नबनाउने ठेकेदारलाई बाँधेर काम गराउने अभिव्यक्ति दिएका थिए। त्यसरी सडक नबन्ने कांग्रेस सभापति थापाले टिप्पणी गरेका हुन्। 

समयमै काम गर्ने प्रणाली विकास गर्ने थापाको भनाइ थियो। त्यसका लागि सात वर्षदेखि अध्ययन गरेको उनले जिकिर गरे।

‘त्यो सिस्टम कसरी बनाउने हो, गतिका साथ भन्ने तयारीका साथ हामी आएका छौँ। सात वर्ष काम गरेका छौँ, दिनरात, प्रोजेक्ट गभर्मेन्ट भनेर,’ थापाले भने, ‘किसानको खेतमा मल कसरी पु¥याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेसम्मको टिम बनाएर।’

त्यसका लागि उनले जनताले मौका दिनुपर्ने बताए। उनले घरघरमा गएर जनतालाई आश्वस्त पार्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad