नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको दाबी गरेका छन्।
गत २३ भदौमा जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन र आगजनी समेटिएको डकुमेन्ट्र बीबीसी वर्ल्ड सर्भिसले बिहीबार सार्वजनिक गरेको थियो।
जुन भिडिओमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको देखाइएको छ।
४१ मिनेटभन्दा लामो उक्त डकुमेन्ट्रीमा कल साइन ‘पिटर वान’ले प्रहरी अधिकृतहरूलाई कर्फ्यु लागेको १० मिनेटपछि ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको छ।
‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको बीबीसीले उल्लेख गरेको छ।
जेनजी आन्दोलनबाट एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री सत्ताच्युत भएका थिए।
‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,’ पोखरेलले भनेका छन्, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो। हामीले बुझ्नुपर्छ।’
उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा पनि जोड दिएका छन्।
‘नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ। सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ।’

Shares

प्रतिक्रिया