राजनीति


निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८२ बुधबार ५:३९, काठमाडौँ

फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ।

सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ। 

कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ।

सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ।

निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ।

निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad