चुनावको मुखमा दल छाड्ने नेताहरूको गन्तव्य नेपाली कांग्रेस बनेको छ। जेन–जी आन्दोलनपछि कांग्रेसले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेपछि आफूहरू कांग्रेसप्रति आकर्षित भएको उनीहरूको भनाइ छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाले पार्टीको नेतृत्व सम्हालिसकेपछि ६ हजारभन्दा बढी सदस्यहरू थपिएका छन्।
‘रास्वपा, नेकपा एमाले, जसपा लगायत दलका गरेर लगभग ६२ सयजति नेताले सदस्यता लिएका छन्,’ चालिसेले भने, ‘तीमध्ये पनि १०० भन्दा बढी केन्द्रीय स्तरकै नेता हुन्।’
यसरी दल त्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। सोमबार मात्रै रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छोडेका छन्। कांग्रेस छोडेर रास्वपालाई स्थापनाकालदेखि नै साथ दिँदै आएका पराजुली चुनावको मुखमै रास्वपा छाडेर कांग्रेसमै फर्किएका हुन्। यसले मकवानपुरको चुनावमा रास्वपालाई धक्का पुग्ने अनुमान भइरहेको छ।
२०७९ को निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बन्दा उनले १२ हजारभन्दा बढी मत ल्याएका थिए।
उतिबेला सीमित नेताको स्वार्थमा पार्टी सिद्धान्तबाट विचलित भएको कारण आफूले कांग्रेस छाडेको उनको भनाइ छ। अहिले कांग्रेस सुध्रिएकोले फर्केको उनले बताए।
‘अहिले नेपाली कांग्रेसको सबै कुरा राम्रो छ, गगनजीको सुधारिएको कांग्रेस, उहाँको नेतृत्व क्षमता र यो साहसलाई मैले आत्मसात् गरेँ,’ पराजुलीले नेपालखबरसँग भने, ‘म हिजो पनि कांग्रेस नै भएको कारणले आज पनि कांग्रेसमै आएँ।’
पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक निराजन बर्तौला र युवा नेता राममणि न्यौपाने पनि रास्वपा छोडेर कांग्रेस फर्किएका छन्।
रास्वपा खहरे खोला भएको उनी बताउँछन्।
भन्छन्, ‘मलाई राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ खहरे खोला जस्तै लाग्छ। मैले धेरै समय हेरेँ, अनुसन्धान गरेँ, नेताहरू पनि एकअर्कालाई गाली–गलौज गर्ने, पार्टीमा आन्तरिक लोकतन्त्र छँदैछैन। केन्द्रमा धेरै विकृति, विसङ्गति, अलोकतान्त्रिक गतिविधि भए। तर, कारबाही कसैलाई हुँदैन। सैनिक शासनको ढाँचामा यो पार्टी चलेको मैले महसुस गरेँ।’
एमाले छाडेर बसेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेतालाई सभापति थापाले कांग्रेसमा स्वागत गरे लगत्तै एमालेबाट अरु पनि कांग्रेस प्रवेस गर्ने क्रम बढेको छ। एमालेका पूर्व केन्द्रीय सदस्य तथा रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेस प्रवेश गरेका छन्। उनले एमालेमा लामो समय बिताए पनि पार्टीमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको भन्दै पार्टी परिवर्तन गर्ने निर्णय लिएको बताए।
सामाजिक सञ्जालमा उनले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र जीवित रहेको र गगन थापा जस्ता युवा नेताहरूको उदय नयाँ राजनीतिक पुस्तान्तरणका लागि चालिएको एउटा बाध्यकारी कदम भएको बताएका छन्। ढकालले कांग्रेस उम्मेदवार मोहन आचार्यलाई विजयी बनाउन रसुवाली जनतालाई अपिल समेत गरेका छन्।
उनीसँगै रसुवाका ७८ जना एमाले नेता–कार्यकर्ता एकैचोटि एमाले छोडेर कांग्रेस प्रवेश गरेका हुन्। जसले गर्दा एमालेलाई रसुवामा निर्वाचनको समयमा ठूलो धक्का पुगेको छ।
उता रास्वपाकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पनि राजीनामा दिएर कांग्रेस रोजेकी छन्। निर्वाचनका सन्दर्भमा रास्वपाले अवलम्बन गरेको पद्धति र निर्णयहरू रास्वपाको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत रहेको उनको आरोप छ।
पार्टीभित्र विधि र विधान विपरीत क्रियाकलापहरू बढेको उल्लेख गर्दै ममताले संगठनमा खटिएका क्षमतावान सदस्यहरूको उचित मूल्याङ्कन नभएको गुनासो गरेकी छन्। विशेषगरी पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको र यसले आफ्नो आत्मसम्मानमा चोट पुर्याएको भन्दै उनले यस्ता गलत कार्यहरूको साक्षी बसेर अब मौन रहन नसक्ने बताएकी हुन्। उनी २०७९ को साउनमा रास्वपामा लागेकी थिइन्।
अहिले उनी नेपाली कांग्रेसबाट सदस्यता लिएर चुनावी प्रचार–प्रसारमा लागेकी छन्।
यस्तै रास्वपाका केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा, एमाले पूर्वमन्त्री रामवीर मानन्धरलगायत धेरै जनाले निर्वाचन नजिकिँदै गर्दा कांग्रेस रोजेका छन्।
Shares

प्रतिक्रिया