राजनीति


संसद पुनर्स्थापनाको मुद्दा चुनाव पछि सार्नु षडयन्त्रः केसी

संसद पुनर्स्थापनाको मुद्दा चुनाव पछि सार्नु षडयन्त्रः केसी

नेपालखबर
फागुन १०, २०८२ आइतबार २१:२८, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनसम्बन्धी मुद्दा चुनाव पछि साधारण तारेख राखिनुमा षडयन्त्र भएको बताएका छन्। 

रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्। 

यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। सर्वोच्च अदालतले त्यसको भोलिपल्ट २२ गतेका लागि संसद पुनर्स्थापना सम्बन्धी मुद्दामा साधारण तारेख राखेको छ।

केसीले भने, ‘सर्वोच्च अदालतमा संसद पुनर्स्थापनासम्बन्धी परेको मुद्दाको सुनुवाइ फागुन २२ गते पछि तोकिएको छ। राज्यको लगभग ३० अर्ब खर्च गरेर चुनाव गरेपछि प्रतिनिधि सभा पुनर्स्थापना गर्ने हो? यो गम्भीर षडयन्त्र हो।’

उनले सिंहदरबार र संसद भवन जलाउनेहरूले नै देशलाई चुनावमा धकेलेको बताए। 

‘जसले संसद भवन जलाए, सिंहदरबार र सर्वोच्च अदालत जलाए। उनीहरूले ध्वस्त पारेका संरचना बनाउन ८४ अर्ब रुपैयाँ लाग्छ भनेर राज्यकै निकायले भनिरहेका छन्’ केसीले भने, ‘उनैले तीसौँ अर्ब रुपैयाँ राज्यको खर्च गराएर चुनाव गराउँदै छन्।’

केसीले सिंहदरबार र संसद भवन जलाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गरेका थिए।

अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संरक्षण र संघीयता खारेजको एजेन्डालाई जोडदार रूपमा अघि सार्नुपर्ने बताए।

समानुपातिक उम्मेदवार रहेका केसीले आफ्नो पार्टीको चुनाव चिह्न गिलास राष्ट्रवादको प्रतिक भएको दाबी पनि गरे।

‘राष्ट्रिय जनमोर्चा लोकतन्त्र, राष्ट्रियता र धमनिरपेक्षताको पक्षमा लडिरहेको शक्ति हो’ उनले भने, ‘राजमोको चुनाव चिह्न गिलास राष्ट्रवादी शक्तिको प्रतीक हो।’

अध्यक्ष केसीले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको उल्लेख गरे।

‘राष्ट्रियता कमजोर भयो भने विकास सम्भव हुँदैन। गणतन्त्रको रक्षा गर्दै देशलाई सही दिशामा लैजानु अहिलेको प्रमुख जिम्मेवारी हो’ उनले स्पष्ट पारे।

सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध आर्जन प्रमाणित भए कडा कारबाही गर्नुपर्ने बताए।

सिपमूलक तालिम, सहुलियत कर्जा र उत्पादनमुखी शिक्षालाई प्राथमिकतामा राखेर रोजगारका अवसर विस्तार गरिने उनले दाबी गरे।

त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउनुपर्ने मागसमेत उनले दोहोर्‍याए।

कार्यक्रममा जनमोर्चा रुपन्देही–२ का उम्मेदवार रुकबहादुर पराजुली र समानुपातिक उम्मेदवार लीलाबहादुर केसीले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad