नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ।
शाक्यका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमका बिच दमकमा लोकार्पण गरिएको हो।
एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रूपमा कृति विमोचन गरेका थिए। कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो।

यसैबिच आइतबारनै एमाले अध्यक्ष ओली र शाक्य बिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन समेत गरेको छ। शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाएकी थिइन्।
‘पहिलो पटक रातो साडीमा’
१४ वर्ष जेल जीवन बिताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग आफूले कुनै अपेक्षा समेत नराखी विवाह गरेको उनले सुनाइन्।

शाक्यले भनिन्, ‘केपी ओली सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्री नै बन्नुहोला भन्ने केही सोचेको थिइनँ, केवल उहाँसँग भावनात्मक रूपमा एक भएकाले विवाह गरेको हुँ।’
शाक्यका अनुसार, त्यस क्रममा उनी २०४४ साल फागुन १० गते विवाह पछि सयौँ पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको थियो।
‘आजको दिनलाई खास उत्सवको रूपमा मनाउने हाम्रो चलन पनि थिएन, गत वर्षदेखि मात्र साथीहरूले सुरु गरी दिनुभएको हो’ शाक्यले भनिन्, ‘यस वर्ष त कस्तो संयोग पर्यो भने, झापामा नै रहेका बेला वर्षगाँठ पर्यो। त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर यहाँ उपस्थित भएको छु।’

केपी ओलीले मन्त्री वा प्रधानमन्त्री बनेर अकुत सम्पत्ति कमायो भन्नेहरूले आरोप लगाएपछि आफूहरूसँग कुनै निजी सम्पत्ति नरहेको भन्दै उनले आफूहरूको वास्तविकता कस्तो छ नजिक हुनेहरूलाई मात्र थाहा भएको समेत प्रस्ट पारिन्।
राधिका शाक्य झापा–५ मा ओलीसँगै चुनावी प्रचार प्रसार अभियानमा सक्रिय छिन्। ओली नेकपा (एमाले) को तर्फबाट झापा–५ का उम्मेदवार हुन्।

Shares

प्रतिक्रिया