राजनीति


दमकका टोलमा बालेनको क्रेज, चुनावी माहोलमा सेल्फी र मुस्कान

दमकका टोलमा बालेनको क्रेज, चुनावी माहोलमा सेल्फी र मुस्कान

नेपालखबर
फागुन १०, २०८२ आइतबार १५:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह यतिबेला झापा-५ को चुनावी रापतापमा होमिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिन विश्राम गरेका साह निको हुनेबित्तिकै आइतबार बिहानैदेखि दमकका टोल-टोलमा पुगेका हुन्। उनले युवा मतदाता भेट्दा उत्साही हुँदै सेल्फी खिच्ने गरेका छन्।

गत बिहीबार सुर्खेतमा रहँदा स्वास्थ्य बिग्रिएपछि उनी हवाई मार्गबाट काठमाडौँ फर्किएका थिए। तर, चुनावी चटारोले उनलाई धेरै दिन घरमा बस्न दिएन। शनिबार नै झापा ओर्लिएका बालेन आइतबार बिहानैदेखि दमक नगरपालिकाका विभिन्न वडाहरूमा मतदाता भेटघाटमा व्यस्त छन्।

टोल-टोलमा बालेन
बालेनको चुनावी शैली यसपटक अलि फरक र लो-प्रोफाइल देखिएको छ। रास्वपा झापा क्षेत्र नम्बर ५ का संयोजक भेषराज भट्टराईका अनुसार बालेन आफ्नो सचिवालयका सदस्यहरूलाई लिएर आफैँ गाडी चलाउँदै मतदाताको ढोकासम्म पुगिरहेका छन्। 'उहाँ आफैँ गाडी हाँकेर बिहानदेखि रातिसम्म गाउँ र टोलका अगुवाहरूसँग छलफलमा जुटिरहनुभएको छ,' भट्टराईले भने।

दमकको घरदैलोका क्रममा एउटा रोचक दृश्य पनि देखिने गरेको छ। चुनावी प्रचारकै क्रममा बाटोमा एमाले वा कांग्रेसका कार्यकर्ता भेटिँदा बालेनले झण्डा र चुनाव चिह्नको पर्वाह नगरी सौहार्दपूर्ण रूपमा नमस्कार गर्ने र भोट माग्ने गरेका छन्।

झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत भएकाले यहाँ बालेनको उपस्थितिलाई निकै चासोका साथ हेरिएको छ। सचिवालयका सहयोगीहरू सहित उनी अहिले दमकका भित्री बस्ती र गाउँका घर-आँगनमा पुगेर रास्वपाको पक्षमा माहोल बनाउन केन्द्रित छन्। युवा मतदाता सामु पुग्दा उनी सेल्फी खिच्दै अघि बढ्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad