वाईसीएलले प्रतिनिधि सभाको निर्वाचन बिथोल्ने गतिविधि हुन थालेको जनाउँदै त्यस्ता गतिविधि नरोकिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।
शनिबार वाईसीएलका अध्यक्ष पुष्प ओलीले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दलका झण्डा जलाउने, च्यात्ने लगायतका गतिविधिले निर्वाचन बिथोलिने जनाएका छन्। उनले भनेका छन्, ‘राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूले झण्डा जलाउने, च्यात्ने, कार्यक्रम बिथोल्ने जस्ता अराजनीतिक र उच्छृंखल गतिविधि गर्नु लोकतान्त्रिक संस्कारविपरीत कार्य हो।’
लोकतन्त्रमा असहमति राख्न सकिने जनाउँदै त्यसलाई हिंसात्मक बनाउन नहुने आईसीएलको धारणा छ। ‘हामीले लामो संघर्ष र बलिदानबाट स्थापित गरेको गणतन्त्रको मूल सुन्दरता भनेको अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा असहमति स्वाभाविक हुन्छ, तर असहिष्णुता र हिंसात्मक व्यवहार कदापि स्वीकार्य हुन सक्दैन।’
आगामी प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको जिम्मेवारी भएको जनाइएको छ। ‘निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु सम्पूर्ण राजनीतिक दल, राज्य संयन्त्र तथा नागरिक समाजको साझा जिम्मेवारी हो। मतदाताको अधिकारको सम्मान गर्दै सबै पक्षले संयम, सहिष्णुता र कानुनी मर्यादाको पालना गर्नु अत्यावश्यक छ,’ वाईसीएलले भनेको छ।
निर्वाचन बिथोल्ने कार्य गर्नेलाई कारबाही गर्न वाईसीएलले माग गरेको छ। यसमा संलग्न व्यक्तिलाई कारबाही नगरिए प्रतिकार गर्ने चेनावती दिएको छ।
‘हामी कानुनी राज्य र विधिको शासनका दृढ पक्षपाती हौं। यस्ता गैरकानुनी गतिविधिहरूलाई राज्य संयन्त्र, निर्वाचन आयोग, प्रहरी र प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण र कारबाही गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि समयमै नियन्त्रण नभए जनस्तरबाट उत्पन्न हुने प्रतिरोध वा प्रतिकारको नैतिक जिम्मेवारी राज्य र यस्ता गतिविधिमा संलग्न पक्षले नै वहन गर्नुपर्नेछ।’

Shares

प्रतिक्रिया