राजनीति


महावीर पुनको महत्वाकांक्षा: ‘आइपऱ्यो भने प्रधानमन्त्री म हुनेछु’

महावीर पुनको महत्वाकांक्षा: ‘आइपऱ्यो भने प्रधानमन्त्री म हुनेछु’

नेपालखबर
फागुन ९, २०८२ शनिबार १०:४१, काठमाडौँ

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार पूर्वशिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री नै बन्ने महत्वाका‌ंक्षा राखेका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले आवश्यक परेको खण्डमा प्रधानमन्त्री पदको जिम्मेवारी लिन पनि पछि नहटिने बताएका हुन्। 

पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका छन्। 

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘नयाँ र पुराना पार्टीहरू एकआपसमा झगडा गर्ने, खुट्टा तानातान गर्ने र कसैले पनि ढंग नल्याउने हो भने अबको प्रधानमन्त्री महावीर पुन हुनेछु। धेरै झगडा नगर बुढा र युवा नेताहरू। आइपऱ्यो र आवश्यक पऱ्यो भने महावीर पुन पछि हट्ने छैन।’

नेपालमा आम निर्वाचनबाट सिधै प्रधानमन्त्री चुनिने व्यवस्था नभए पनि कतिपय दलले अहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्। जसअनुसार नेपाली कांग्रेसले सभापति गगन थापा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छन्।

यद्यपि यसका लागि ती नेताले सर्वप्रथम आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजय हासिल गर्नुपर्छ। त्यसपछि बल्ल संसद्‌मा आफ्ना पक्षमा बहुमत सांसदको समर्थन जुटाएर प्रधानमन्त्री पदमा दाबी गर्न सक्छन्। 

राष्ट्रिय आविष्कार केन्द्रको नेतृत्व गर्दै पुन आफ्नो आत्मकथा पुस्तक बिक्री अभियानमा रहेकै बेला गत भदौमा जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तिरम नागरिक सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर निर्वाचन लड्न भनेर अन्तिमतिर मन्त्री पदबाट राजीनामा दिँदै उनी राजनीतिमा होमिएका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad