राजनीति


भारतले लिपुलेकमा बाटो निर्माण गर्नु दुःखद र आपत्तिजनकः माधव नेपाल

भारतले लिपुलेकमा बाटो निर्माण गर्नु दुःखद र आपत्तिजनकः माधव नेपाल

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ९:११,

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिसमेत प्रयोग गरी चीनको मानसरोबार पुग्ने बाटो निर्माण गरी उदघाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताएका छन।

नेकपाको विदेश प्रमुख समेत रहेका नेपालले आइतबार विज्ञप्ति जारी गर्दै भारतको उक्त कार्यले दुई देश बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गरेका छन्।

‘नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमामा राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक नक्शा प्रकाशन गरेपछि नेपालले त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि ताकेता गरिरहेकोमा त्यसलाई वेवास्ता गर्दै र विश्व नै कोभिड–१९ महामारीका विरुद्धमा लडिरहेको बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोबार जाने बाटो निर्माण गरी उदघाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक छ,’ पूर्वप्रधानमन्त्री नेपालको विज्ञप्तिमा उल्लेख छ।

उनले नेपालको पश्चिम पहाडी भू–भाग र भारतबीचको सीमा सन १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्धारित रहेकाले उक्त सन्धिको धारा ५ अनुसार लिम्पियाधुराबाट निस्किने काली –महाकाली) नदी नै दुई देशबीचको सीमा नदी भएको स्पष्ट पारेका छन।

‘उक्त सन्धिको प्रावधान र मर्म विपरीत भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा राख्नु, अनाधिकृत रुपमा सुरक्षाकर्मी राख्नु र बाटो निर्माण गर्नु स्वतः सन्धी विपरीत हुन्छ,’ उनले भनेका छन्, ‘कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्शा सच्याउन हामीले बारम्बार आग्रह गर्दै आएको पनि स्मरण गराउन चाहन्छौँ।’

भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुई पटक पत्र लेखिसक्दासमेत त्यस विषयमा तदारुकताका साथ वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले आफूलाई थप गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ।

यस संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको बैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन, आवश्यक तथ्य–प्रमाणहरुसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न उनले सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad