नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कांग्रेस र एमालेभन्दा रास्वपा फरक नभएको टिप्पणी गरेका छन्।
मंगलबार नेकपा (संयुक्त)को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भुसालले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका राजनीतिक दलको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको जिकिर गरे। उनले सबै राजनीतिक शक्तिबीच नाम, नारा र शैलीमा फरक देखिए पनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उनको भनाइ थियो।
उनीहरूबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको भुसालको दाबी थियो। पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उनको भनाइ थियो।
‘एमाले, नेपाली कम्युनिस्ट, कांग्रेस र रास्वपा सार त एउटै हुन्। हाम्रो दाबी के हो भने यी सबै एउटै हुन्। कसले कसरी सडकबारे कुरा गरेर जनतालाई ढाँट्ने कुरामा प्रतिष्पर्धा बाहेक कार्यक्रमका हिसाबले उनीहरूको हिँड्ने बाटो एउटै हो,’ भुसालले भने, ‘पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँड्दै थियो, हाम्रो प्रजातन्त्र त्यही बाटो हिँड्यो र अहिले गणतन्त्र पनि त्यही बाटो हिँडिरहेको छ। यही बाटोमा केही पत्र थप्ने हुन्, कसले कुन पत्र थप्छ, कसले कस्तो साईनबोर्ड राख्छ, यसमा प्रतिष्पर्धा छ।’
जनयुद्ध लडेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टी नेकपाको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिबद्धताबीचमा पनि खास अन्तर नरहेको भुसालले बताए। उनीहरूको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) पुर्याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उनको टिप्पणी थियो।
‘जनयुद्ध लडेर आएको नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र र अहिलेको नयाँ नौजवानहरूको भनिएको रास्वपाको करारपत्र आएको छ, करिब १५० खर्ब रुपैयाँको ५ वर्षमा जीडीपी बनाउने कुरा आएको छ, यसमा ढाँट्ने कुरा पनि उस्तै छ, बाटो पनि उस्तै छ, बाटो एउटै हो, हिँड्ने,’ उनले भने।
वर्तमान राजनीतिक प्रवृत्ति लोकरिझ्याँइतर्फ उन्मुख भएको आरोप लगाउदै एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरूलाई पितामहको संज्ञा दिए। नेकपा (संयुक्त) भने लोकरिझ्याइँको धारभन्दा भिन्न रहेको उनको दाबी थियो।
‘सबै पार्टीहरू पपुलिस्ट भएर पछाडि लागे, पपुलिस्ट भनेको अहिले बालेन मात्रै होईन, हाम्रो पपुलिज्मको पितामह कांग्रेसका केही पितामह छन्, त्यो भन्दा पनि सर्वोतम पितामह त ओलीजी नै हो,’ भुसालले भने, ‘प्रचण्डजी अर्को भइहाल्नुभयो उहाँलाई भन्नै पर्दैन। यो पपुलिज्म र नयाँ पपुलिस्टहरू एकातिर हुन् र नेकपा (संयुक्त) एकातिर हो। यस अर्थमा हामी आजको राजनीतिको पनि प्रतिपक्ष हौँ, भोलीको पनि प्रतिपक्ष हौँ।’
निर्वाचनका वेला कानुनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेदवारी दिन पनि नसकिएको उनले बताए। नेकपा (संयुक्त) ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ। संसदमा जति नै सहभागिता भए पनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उनले बताए।
‘अहिलेका रंगमञ्चमा भएका पार्टीहरूसँग हामीले जो जसले जित्छौँ, हामीसँग संसदमा जुन सहभागिता हुनेछ, हामीले सरकारमा सहभागिता जनाउँदैनौँ। किनभने कार्यक्रमिक हिसाबले हामी फरक हौँ, यसकारण हामी प्रतिपक्षमा हुन्छौँ,’ उनले भने, ‘हामी सडक, संसदको प्रतिपक्ष हौँ। हामी आजको राजनीतिको प्रतिपक्ष हौँ।’
उनले निर्वाचनमा राजनीतिक पार्टीहरूले बनाउने घोषणापत्र जनता ढाँट्ने माध्याम मात्रै भएको जिकिर गरे। राजनितिक दलले बनाएको घोषणापत्र हालसम्म कार्यन्वयनमा नआएको उनको भनाइ थियो। नेकपा (संयुक्त) ले तयार पारेको घोषणापत्रको बाटोमा सबै राजनीतिक दलहरू नआएसम्म देश समृद्ध हुनु नसक्ने ठोकुवा गरे।
Shares

प्रतिक्रिया