राजनीति


चुनावको तयारी सकियो, अब जनताले मत हाल्न मात्र बाँकी छ: प्रधानमन्त्री कार्की

चुनावको तयारी सकियो, अब जनताले मत हाल्न मात्र बाँकी छ: प्रधानमन्त्री कार्की

नेपालखबर
माघ २९, २०८२ बिहिबार १८:४९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन्। 

बिहीबार सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाबारे जानकारी लिएकी हुन्। उनले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिइन्। 

‘छोटो समयमा तपाईंहरूले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो,’ कार्कीले भनिन्, ‘मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ। अरु सारा तयारी सकियो।’

उनले आउँदा दिनमा पनि सबै सुरक्षा निकायबीच एकताबद्ध र समन्वयात्मक रुपमा अघि बढ्न निर्देशन दिइन्। कुनै तत्त्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्त्वलाई निरुत्साहित गर्न पनि प्रधानमन्त्रीको निर्देशन थियो। 

‘सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोज्लान्। त्यस्ता तत्त्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस्। यसमा कुनै सम्झौता नगर्नुहोस्। यतिखेर देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठूलो कुरा अर्को कुनै छैन,’ उनले भनिन्। 

कार्यक्रममा कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी र प्रमुख जिल्ला अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। 

कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण राखेका थिए। 

यसअघि आजै प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी थिइन्। प्रधानमन्त्री कार्की बिहीबार सुनसरीको इटहरीमै बस्ने भएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad