नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ कांग्रेस चुनावमा गएको बताएकी छन्।
बिहीबार अर्घाखाँचीको खनदहमा कांग्रेस मालारानी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उपसभापति भुसालले सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति अघि सारेको बताइन्। ‘कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो,’ उनले भनिन्।
२०५६ सालपछि कांग्रेसले स्पष्ट बहुमतको सरकार बनाउन नसकेको भन्दै जनताका अपेक्षा अनुसारका काम पूरा गर्न कठिनाइ भएको उनले बताइन्। ‘बहुमत नभएकै कारण जनताका धेरै चाहना र मागहरू पूरा हुन सकेनन्’, भुसालले भनिन्।
कांग्रेस सधैँ लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया