राजनीति


युक्रेन र भेनेजुएलाको प्रसंग निकाल्दै प्रचण्डले भने- साँढेको जुधाइ, बाच्छाको मिचाइ नहोस्

युक्रेन र भेनेजुएलाको प्रसंग निकाल्दै प्रचण्डले भने- साँढेको जुधाइ, बाच्छाको मिचाइ नहोस्

नेपालखबर
माघ २९, २०८२ बिहिबार १४:१३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन्। 

बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको बताएका छन्। उनले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको जिकिर गरे। 

बुर्तिबाङका मतदाता, नेता तथा कार्यकर्तासँगको संवादमा प्रचण्डले भने, ‘भदौ २४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौँ।’

उनले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताएका छन्। ‘यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,’ उनले भने। 

विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने उनको भनाइ थियो। उनले भने, ‘नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ।’

युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे। ‘साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता हामीमा छ,’ प्रचण्डले भने। 

कार्यक्रममा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको बताए। बागलुङ-२ का उम्मेदवार ज्ञामनाथ गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै जिताएर पठाए पार्टीले बागलुङ-२ का जनताको हितमा गैरेलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए। 

कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा नेत्री पम्फा भुसाल र बागलुङ-२ का उम्मेदवार ज्ञामनाथ गैरेलगायत नेताले बोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad