नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न कार्यकर्तालाई आग्रह गरेका छन्।
मंगलबार सुनसरीको झुम्कामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आफूलाई गरेको विश्वास भोटमा परिणत गर्न आग्रह गरेका हुन्। ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु,’ थापाले भने।
सुनसरी-२ बाट कांग्रेस नेता राजीव कोइरालाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। उनको पक्षमा प्रचार गर्न थापा मंगलबार झुम्का पुगेका हुन्।
कांग्रेसले बोलेको कुरा पूरा गर्दै आएको जनतालाई बताउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,’ थापाले भने, ‘मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।’
अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको उनले उल्लेख गरे। बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नुपर्ने थापाको भनाइ थियो।
Shares

प्रतिक्रिया