जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित भएका छन्।
श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीन दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तरराष्ट्रिय गोष्ठीपश्चात आज भएको निर्वाचनमा डा भुसाल सो संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
डा भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान)का वर्तमान अध्यक्ष हुन्। सन् २०१७ देखि हालसम्म उनी सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको महासचिव थिए।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका जाइका अलमनाइहरुको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष डा भुसाल र उपाध्यक्ष डा किरण रुपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गरेका जानका महासचिव शान्तिलक्ष्मी शाक्यले जानकारी दिइन्।
नवनिर्वाचित अध्यक्ष भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रुपमा सहयोग गर्दै आएको र जापानबाट इमान्दारिता, जिम्मेवारीको जवाफदेहिता, अनुशासन, समयनिष्ठता र मेहनत सिक्नुपर्ने बताए। कार्यक्रममा सार्क क्षेत्रका जाइका अलमनाइहरूबाट भए गरेका गतिविधिको बारेमा प्रस्तुति भएको थियो।
सार्क क्षेत्रका जाइका अलमनाइहरूको छाता सङ्गठनका रुपमा सो संस्थाको स्थापना सन् २००८ मा भएको थियो। यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमा रहेको छ। रासस
Shares

प्रतिक्रिया