विसं २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनविक्रम सिंह प्युठान पूर्वदक्षिण क्षेत्र नं ८५ मा उम्मेदवार थिए। प्युठानमा कम्युनिस्ट पार्टीको जग बसाल्ने सिंह त्यो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए। कांग्रेसका पुरुषोत्तम शर्माले ३ हजार ९८७ मत ल्याएर विजयी हुँदा सिंहले २ हजार ५४६ मत ल्याएका थिए।
नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको त्यो निर्वाचनमा कम्युनिस्ट पार्टीले देशभर चार सिट मात्रै जितेको थियो। त्यतिबेलाको प्युठान (रोल्पासहित) का तीन वटै क्षेत्रमा कांग्रेस विजयी हुँदा कम्युनिस्ट पार्टीबाट मुख्य प्रतिस्पर्धी सिंह मात्रै थिए। तर, त्यो चुनाव पश्चिम नेपालमा कम्युनिस्ट पार्टीको संगठन निर्माण गर्न र पञ्चायतविरुद्ध लड्न महत्त्वपूर्ण कोशेढुंगा साबित भयो।
त्यतिबेला सग्लो कम्युनिस्ट पार्टी अहिले चिरा–चिरा छ। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह २०१० सालदेखि नै पार्टीको नेतृत्वमा छन्।
उनै मोहनविक्रमका छोरा समीर सिंह (अशोकविक्रम जिसी) बाबुको पदचाप पछ्याउँदै ६७ वर्षपछि चुनावी मैदानमा छन्। ५२ वर्षीय समीर राष्ट्रिय जनमोर्चाको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा उम्मेदवार बनेका हुन्।
‘हेभिवेट’हरूको मैदान काठमाडौँ–५
प्रधानमन्त्रीका आकांक्षीहरू तराई झरेपछि काठमाडौँ उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमध्ये चर्चित र ‘हेभिवेट’ नेता भिड्ने मैदान बनेको छ, काठमाडौँ ५।
यो क्षेत्रमा नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल अघिल्लो हारको बदला लिने सुरमा छन्। २०७९ को निर्वाचनमा पोखरेललाई हराउने कांग्रेस महामन्त्री प्रदीप पौडेल फेरि प्रतिस्पर्धामा छन्।
पञ्चायतकालदेखिका राजनीतिक हस्ती राप्रपाका वरिष्ठ नेता कमल थापा पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्।
यस्तै, गएको निर्वाचनमै समानुपातिकतर्फ ११ हजारभन्दा बढी मत प्राप्त गरेको र अहिले थप चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल चुनावी मैदानमा छन्। चर्चित अभिनेत्री निशा अधिकारीले पनि आफूलाई यहीँबाट जनपरीक्षण गर्न खोजेकी छन्।
यो क्षेत्रमा गत २०७९ को निर्वाचनमा कांग्रेस नेता प्रदीप पौडेलले १५ हजार २६९ मतका साथ जित निकाल्दा एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० पाएका थिए। तेस्रो हुने रास्वपाका प्रणयशमशेर राणाको ५ हजार ४७७ मत थियो।
पुराना हस्ती र राजनीतिक लहरबीचको चुनावी भिडन्तमा समीरले पनि जनमोर्चाबाट उम्मेदवारी दिएका हुन्।
कार्यकर्ताको तामझाम, अनियन्त्रित खर्च, मतदाताको जोडघटाउ र गाडी–घोडाको लर्को लाग्ने चुनावी शैलीलाई उनले पछ्याएका छैनन्। समीर केही कार्यकर्ता र शुभचिन्तकलाई लिएर भेटघाट गर्दै मत माग्न व्यस्त छन्। दर्शनशास्त्र र गणित विषयका अध्यापक उनी बिहान कलेज पढाउँछन् अनि दिउँसो मत माग्न जान्छन्।
बौद्धिक व्यक्तित्वको छवि
पार्टीभित्र र बाहिर बौद्धिक व्यक्तित्वको छवि बनाएका सिंहले कक्षा १० सम्मको अध्ययन कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट गरे। पञ्चायतकालमा बुवा मोहनविक्रमले झेलेको राजनीतिक उतारचढावको असर उनमा पर्ने नै भयो। एसएलसी दिएपछि उनी भूमिगत बुवासँगै भारत गए र उतै पढ्न थाले। समीरले भारतमै गणित र दर्शनशास्त्रमा एमए गरे। अनि त्यहीँबाट राजनीति पनि सुरु गरे।
उनी २०४४ सालमा नेकपा (मसाल) निकट भारतस्थित विद्यार्थी संगठन अखिल भारत नेपाली विद्यार्थी संघमा आबद्ध भए। र, पछि सो संगठनको दुई कार्यकाल अध्यक्षसमेत बने। यो संगठनका संस्थापक अध्यक्ष बाबुराम भट्टराई हुन्। भारतमा रहँदा सिंहले पार्टी निकट पत्रिका विश्व नेपाली साप्ताहिकको सहसम्पादकका रुपमा समेत काम गरेका थिए।
सन् २००१ मा नेपाल फर्केपछि समीर राजनीतिसँगै साहित्य लेखन र अध्यापनमा क्रियाशील रहे।
वामपन्थी लेखक साहित्यकारहरूको साझा संगठन प्रगतिशील लेखक संघका उपाध्यक्ष सिंहका ‘सांख्य दर्शन र मार्क्सवाद’, ‘पूर्वीय दर्शनमा भौतिकवादको खोजी’ र ‘असल अभिभावक कसरी बन्ने’ जस्ता कृति प्रकाशित छन्। यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दर्शनावलीका उनी नियमित स्तम्भकार हुन्। उनको नेतृत्वमा साहित्य र स्वास्थ्यलाई सँगै जोडेर नियमित ‘साहित्यिक पदयात्रा’ हुने गरेको छ।

मार्क्सवादी साहित्यको क्षेत्रमा समीर सिंह आशालाग्दा व्यक्ति भएको भाषा आयोगका सदस्य पुष्कर भट्ट बताउँछन्।
प्रगतिशील लेखक संघका पूर्वउपाध्यक्ष भट्ट भन्छन्, ‘उहाँले प्रगतिशील साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनु भएको छ। मार्क्सवादी साहित्यको क्षेत्रमा समीर आशालाग्दा व्यक्तित्व हुनुहुन्छ। साथै, लेखक–साहित्यकारहरूलाई संगठित गर्न र प्रशिक्षित पार्न पनि उहाँको महत्त्वपूर्ण देन रहिआएको छ।’
सिंहले विभिन्न कलेजमा अध्यापन गरिरहेका छन्। पछिल्लो समय त्रिचन्द्र कलेजमा अध्यापनरत उनी आफ्नो कर्मलाई जारी राख्दै चुनावी अभियानमा सक्रिय छन्।
बिहान कलेजबाट फर्किएर चुनाव प्रचारमा व्यस्त रहेका सिंहले भने, ‘हाम्रो जीवन र जगतका लागि दर्शनशास्त्रको कति ठूलो महत्त्व छ भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ। त्यसैले संसद् प्रवेश गर्न चाहन्छु।’
जनमोर्चाका एजेन्डालाई सहरमा स्थापित गर्ने उद्देश्य
राष्ट्रिय जनमोर्चाले संघीयताका कारण भ्रष्टाचार बढेको दाबीसहित प्रदेश संरचना खारेजीमा लगातार जोड दिँदै आएको छ। संघीयता खारेज गरे शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने जनमोर्चाको जिकिर छ। सिंहले पनि त्यही कुरा दोहोर्याउँदै आफू सांसद निर्वाचित भए शिक्षा र स्वास्थ्य निशुल्क गर्न पहल गर्ने बताए।
त्यो कसरी सम्भव छ त? सिंहको तर्क छ, ‘संघीयता अन्तर्गतको प्रदेश संरचनामा वार्षिक लगभग तीन खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो अनावश्यक बजेट खर्चलाई कटौती गरेर शिक्षा र स्वास्थ्यमा लगानी गरे सम्भव हुन्छ।’
सिंहलाई न आफ्ना ‘हेभिवेट’ प्रतिस्पर्धीहरूसँग डर छ, न त ‘नयाँ’को राजनीतिक लहरसँग।
उनी भन्छन्, ‘विगतको मत र विरासत हेरेर अहिले ‘हेभिवेट’ भन्नु ठिक होइन। जनताले उनीहरूलाई राम्रो नजरले हेरेका छैनन्।’
उनी थप्छन्, ‘नयाँ भनिने रास्वपाको चर्चा सामाजिक सञ्जाल चलाउने युवाहरूले बढी गरेको देखिन्छ। उनीहरू अधिकांश मतदाता नै छैनन्।’
उनले जनताका बीचमा आफ्ना एजेन्डा लैजान सके जनमोर्चाले चुनाव जित्ने विश्वास व्यक्त गरे।
‘राष्ट्रिय जनमोर्चा भ्रष्टाचार नगर्ने पार्टी हो। अहिले राष्ट्रियता अत्यन्तै संकटमा परेको छ। राष्ट्रियताको रक्षा पनि यही पार्टीले गर्न सक्छ,’ उनले भने, ‘सरकारले कृषि र उद्योगलाई प्राथमिकता दिए विदेशिएका युवा यहीँ स्वरोजगार बन्न सक्छन्। हाम्रो पार्टीको घोषणा पत्रमा यी सबै कुरा स्पष्ट छ।’
सहरी क्षेत्रमा आफ्ना एजेन्डा स्थापित गर्न जनमोर्चाले राजधानी सहर रहेको काठमाडौँ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार उठाएको छ। क्षेत्र नं. ४ मा छवि खनाल, ६ मा जगत रेग्मी, ७ मा दीर्घकुमार श्रेष्ठ, ९ मा रोशन दानी र १० मा अमर पौडेल उम्मेदवार छन्।
पत्नी-वियोगकै पीडाबीच चुनावी मैदानमा
सिंह यतिबेला पत्नी गुमाउनुको पीडा खेपिरहेका छन्। समीरकी पत्नी विनु केसीको गएको कात्तिक २० गते क्यान्सर रोगका कारण ज्यान गयो। लामो समय क्यान्सरसँग जुधिरहेकी विनु आफैं क्यान्सर पीडितहरूको जीवन बचाउन लागिपर्थिन्। विनु ‘नेपाल क्यान्सर सर्भाइभर सोसाईटी’ की कोषाध्यक्ष थिइन्। समीर पनि यो संस्थाका एक सहयोगी हुन्।
विनुको निधनपछि पनि समीरले क्यान्सर पीडितहरूको जीवन रक्षाका लागि आफ्नो सक्रियता कायमै राखेका छन्।
‘नेपाल क्यान्सर सर्भाइभर सोसाइटी’ की अध्यक्ष प्रमिता खनाल भन्छिन्, ‘एउटा क्यान्सर पीडितको पति हुुनुको नाताले विनुको उपचारका लागि उहाँले अनेकौँ संघर्ष गर्नुभयो। धेरै ठाउँ पुग्नुभयो। श्रीमतीको मनोबल उच्च बनाउन केके गर्नुभएन। त्यो त छँदैछ। त्यसमाथि उहाँले हाम्रो संस्थालाई पनि एकदमै सपोर्ट गरिरहनुभएको छ।’
Shares

प्रतिक्रिया