राजनीति


सबै हतकन्डा प्रयोग हुन थालेपछि काठमाडौँ ७ मा दोहोरिन ‘च्यालेन्ज’ देख्दैछन् गणेश पराजुली

रामवीर ‘नो भोट’ पक्षमा उभिँदा एमालेलाई धक्का
सबै हतकन्डा प्रयोग हुन थालेपछि काठमाडौँ ७ मा दोहोरिन ‘च्यालेन्ज’ देख्दैछन् गणेश पराजुली

सागर न्यौपाने
माघ २२, २०८२ बिहिबार ८:५२, काठमाडौँ

२०४८ सालमा काठमाडौँमा ५ वटा मात्र क्षेत्र थिए। त्यसवेला नेकपा (एमाले)का नेता मदन भण्डारी क्षेत्र नम्बर ५ बाट निर्वाचित भए। तर दुई क्षेत्रबाट जितेकाले भण्डारीले क्षेत्र नम्बर ५ छोडे। जहाँ २०४९ सालमा उपनिर्वाचन भयो।

उपनिर्वाचनमा विजयी भएका एमालेका नेता कृष्ण गाेपाल श्रेष्ठका अनुसार त्यसपछि क्षेत्र बढाउँदा सीमाना पनि हेरफेर भयो। २०५१ सालको निर्वाचनअघि काठमाडौँको निर्वाचन क्षेत्र पुनरवलोकन गरेर ७ वटा पुर्‍याइयो। तत्कालीन क्षेत्र न‌म्बर ५ कतिपय सीमाना फेरिएर  क्षेत्र नम्बर ७ पुग्यो। 

२०५१  सालमा मध्यावधि निर्वाचन भयो। यस पटक क्षेत्र नम्बर ५ मा एमालेका राजेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भए। त्यस्तै क्षेत्र नम्बर ७ मा एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भए। 

फेरि २०६४ सालको संविधानसभा निर्वाचन ताका काठमाडौँका सीमा केही परिमार्जन भई ७ बाट बढाएर १० वटा क्षेत्र पुर्‌याइयो।

यसरी बनेको क्षेत्र नम्बर ७ ले २०५१ मा पहिलो पटक एमाले, २०५६ सालमा कांग्रेस, २०६४ मा माओवादी र २०७९ मा रास्वपालाई रोजेको छ। यसले यहाँका मतदाता सधैँजसो नयाँ विकल्प र लहरको खोजीमा रहन्छन् भन्ने देखाउँछ। 

त्यस वेलाको क्षेत्र नम्बर ७ मा कांग्रेसका तीर्थराम डंगोललाई हराउँदै एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भए। त्यसपछि २०५६ सालमा भएको निर्वाचनमा कांग्रेसका तीर्थराम डंगोल विजयी भए। 

त्यसपछि पनि यो क्षेत्रले अर्काे रोचक नतिजा दियो। 

१० वर्षको जनयुद्ध गरेको माओवादी ऐतिहासिक जनआन्दोलन हुँदै भर्खरै शान्ति प्रक्रियामा आएको थियो। २०६४ मा भएको संविधानसभाको चुनावमा काठमाडौँ ७ ले काङ्ग्रेस–एमालेलाई झड्का दियो। यहाँबाट माओवादीकी हिसिला यमी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र श्रेष्ठ भए।

तर, यो संविधानसभाले संविधान दिन सकेन र विघटन भयो। २०७० मा फेरि संविधानसभाको चुनाव हुँदा एमालेका रामवीर मानन्धरले यो क्षेत्र जिते।

२०७४ को प्रतिनिधि सभाको चुनावमा एमाले–माओवादीबीच गठबन्धन भयो र सो क्षेत्रमा फेरि मानन्धर नै निर्वाचित भए।

२०७९ मंसिरमा भने तीन ठूला दललाई चकित तुल्याउँदै रास्वपाका गणेश पराजुलीले जित हात पारे। अब फागुन २१ गते फेरि प्रतिनिधि सभाको चुनाव हुँदैछ। यसपटक यो क्षेत्रले कसलाई चकित तुल्याउने हो, यसतर्फ थुप्रैको चासो छ।

२०५१ मा यो क्षेत्र जितेका राजेन्द्र श्रेष्ठका अनुसार यहाँ चल्ने लहर थाहा पाउन गाह्रो हुन्छ। 

‘काठमाडौँको चुनाव प्रायः वेभमा जाने गरेको देखिन्छ,’ उनले भने, ‘यहाँ कार्यकर्ता धेरै भएर जित्ने पनि होइन, कार्यकर्ता नभएर नजित्ने पनि होइन। वेभ आयो भने उम्मेदवार चिन्नु पनि पर्दैन, जनताले मत दिएर जिताउँछन्। यहाँ स्विङ भोट छ।’

त्यसो हुँदा यसपटकको चुनावमा पुरानै उम्मेदवार नदोहोरिन पनि सक्छन्। तर, एमालेका रामवीर मानन्धर २०७० र २०७४ मा दोहोरिएको विगत छ। स्थानीयस्तरमा बनाएको पकडले उनलाई दुई पटक जित दिलाएको जानकारहरू बताउँछन्।

यसपटकको चुनावमा रास्वपाबाहेक काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायत दलले नयाँ उम्मेदवार उठाएका छन्। कांग्रेसबाट प्रमोदहरि गुरागाईं, एमालेबाट प्रकाश श्रेष्ठ, नेकपाबाट बसन्त मानन्धर उम्मेदवार छन्।

ढुक्क छैन रास्वपा
यो चुनावमा रास्वपाका गणेश पराजुली ८ हजार ७४३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०२ मत पाए। 

जबकि, काङ्ग्रेसहित पाँच दलीय गठबन्धनबाट मानुषी यमी भट्टराईले जम्मा ६ हजार ०६३ मत ल्याइन्।

यस क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिका १, २ र ३ वडा र तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा समेटिएको छ। विशेष गरी वडा नं १६, १७ र १८ मा स्वतन्त्र उम्मेदवारको प्रभाव बलियो छ। 

यो क्षेत्रमा ६७ हजार ४११ मतदाता छन्। 

दोहोर्‍याएर उम्मेदवारी दिएका रास्वपाका गणेश पराजुली निर्वाचन क्षेत्रमा अहिले भेटघाट गरिरहेका छन्। तर, यसपटक धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

‘अहिले निकै च्यालेन्जिङ छ, हामीले थुप्रै पाटो हेर्नुपर्छ,’ उनले भने, ‘पहिला अरु राजनीतिक दलले हामीलाई याद गरेकै थिएनन् र सामान्य प्रक्रिया अपनाएका थिए। तर, अहिले सबैतिर हाम्रो माहोल बनेपछि उनीहरू अस्तित्वको लडाइँ लड्दैछन्, सबै किसिमको हतकण्डा प्रयास हुन थालेको छ।’ 

यसपटक एमालेले पनि आफूले जित्ने निश्चित क्षेत्रका रुपमा काठमाडौँ ७ लाई लिएको छ। एमाले काठमाडौँका अध्यक्ष नारायण सिलवालका अनुसार अघिल्लो पटकको चुनावमा पार्टीभित्रैका रामवीर मानन्धरले बागी उम्मेदवारी दिएकाले पराजित हुनुपरेको हो। यसपटक उत्साहित कार्यकर्ता र एकताबद्ध पार्टी संगठन रहेकोले जित निश्चित रहेको उनले दाबी गरे।

‘रामवीर मानन्धरको बागी उम्मेदवारी र भरखरै पार्टी विभाजनको असर जनतामा परेर २०७९ को चुनावमा हामी पराजित भएका हौँ,’ अध्यक्ष सिलवालले भने, ‘यसपटक काठमाडौँ ७ जित्ने अवस्थामा छौँ।’

रामवीर मानन्धर यसपालि एमाले छोडेर बसेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनमा आफ्नो घर तोडफोड भएपछि उनी राजनीतिप्रति निरास छन्। 

‘म कुनै पार्टीमा छैन, यहाँ नैतिकता, इमान्दारी भएको मान्छे कोही भेटेको पनि छैन,’ उनले भने, ‘साइलेन्स बस्नु राम्रो हुन्छ भनेर बसेको छु।’

१० वर्ष वडाध्यक्ष, १० वर्ष सांसद भएका उनलाई पछिल्ला दिन नयाँ भनेर आएका दल पनि नयाँ लाग्न छाडेका छन्। यसपटक आफूले कसैलाई मत हाल्न नभन्ने उनले बताए।

मानन्धरले व्यक्तिगत प्रभाव पार्नसक्ने केही मत छ। जुन निर्णायक हुनसक्ने विश्लेषण छ। यद्यपि, उनी नो भोटको विकल्प हुन्थ्यो भने त्यसमा मत दिने मनस्थितिमा पुगेका छन्। 

‘कसैलाई सहयोग गर्न लागेको होइन, मेरो एक मत कसलाई दिने पनि निश्चित गरिसकेको छैन, अरुलाई कसरी भन्नु?’ उनले भने। 

बालेन शाहको कारण पछिल्लो दिन माहोल बढेकोमा रास्वपाका नेताहरू उत्साहित छन्। तर, नेता गणेश पराजुली अझै पनि ढुक्क हुने अवस्था नरहेको बताउँछन्। 

‘चुनाव आउन अझै निकै समय बाँकी छ, त्यही भएर धेरै मेहनत गर्नुपर्छ, जस्तोसुकै परिस्थितिको सामना गर्न तयार भइराख्नुपर्छ,’ उनले थपे।

नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका बसन्त मानन्धरको पक्षमा माहोल राम्रो रहेको नेता सावित्री भुसालले बताइन्।

‘यसपटक जित्ने उम्मेदवार हाम्रो बसन्तजी नै हो,’ उनले भनिन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसे काठमाडौँ ७ मा अहिले घरदैलो कार्यक्रम भइरहेको बताउँछन्।

‘यो क्षेत्र चेतनशील बस्ने ठाउँ हो,  कांग्रेसमा भरपर्दाे भविष्य छ, यो भन्दा नवीनता, भरपर्दाे आश के होला,’ चालिसेले भने, ‘जनताकै माग अनुसारको कांग्रेस बनेकोले हाम्रो पक्षमा जनमत बढ्दै गएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad