झापा जिल्लाबाट यसपटक प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना नेताहरू अन्तिम सूचीमा परेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाबाट भूगोल, जातीय सन्तुलन र योगदान सबै पक्षका नेताहरू परेका छन्।
अन्तिम बन्दसूची अनुसार, झापाका यी ६ जना उम्मेदवारहरू आफ्नो क्लस्टरमा अग्रपंक्तिमा रहेकाले उनीहरू संघीय संसदमा पुग्ने सम्भावना बलियो छ।
गत निर्वाचनको नतिजा हेर्दा झापामा एमाले र राप्रपाको तालमेलले 'क्लिन स्वीप'को अवस्था सिर्जना गरेको थियो। यसपटक समानुपातिक सूची बनाउँदा अध्यक्ष ओलीले आफ्नो गृहजिल्लाको जातीय क्लस्टर र भेगीय सन्तुलनलाई विशेष ध्यान दिएको देखिन्छ।
दलित कोटाको पहिलो र दोस्रो नम्बरमै झापाका नेताहरूलाई समेटेको छ। दलित पुरुषतर्फ ६३ वर्षीय जीतबहादुर दर्जी गौतम पहिलो नम्बरमा छन्। लामो समयदेखि उत्पीडित जातीय समाजमा सक्रिय दर्जीको इन्ट्रीले झापामा एमालेको दलित भोट बैंक सुरक्षित गर्ने रणनीति देखिन्छ। दलित महिला कोटाको दोस्रो नम्बरमा ३४ वर्षीया नीता घतानी परेकी छिन्।
खस–आर्य र जनजातिमा 'हेभीवेट' सन्तुलन
खस–आर्य महिला कोटामा झापाबाट दुई प्रभावशाली महिला नेतृहरू परेका छन्। मेनुका काफ्ले ७ नम्बर र लता प्रसाईं ८ नम्बरमा छन्। ६१ वर्षीया काफ्ले तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको जिल्ला कमिटीमा लामो अनुभव सँगालेकी नेतृ हुन् भने ६६ वर्षीया प्रसाईं पनि झापाको राजनीतिमा स्थापित नाम हो।

आदिवासी जनजातितर्फ झापाको दक्षिणी बेल्टबाट विद्यानन्द सिंह राजवंशीलाई ६ नम्बरमा राखिएको छ। राजवंशी समुदायको ठूलो मत संख्या रहेको सो क्षेत्रमा पकड जमाउन विद्यानन्दको उम्मेदवारीलाई अर्थपूर्ण मानिएको छ। सोही क्लस्टरको ३ नम्बरमा ३५ वर्षीया अनिता कन्दङ्वा रहेकी छिन्, जो पार्टी भित्रका बौद्धिक र सक्रिय महिला नेतृका रूपमा परिचित छिन्।
विशेष गरी दक्षिण झापाका राजवंशी र सीमान्तकृत समुदायलाई समेट्न विद्यानन्द सिंहलाई अघि सारिनुले एमालेले मधेसी र जनजाति भोटलाई एकीकृत गर्न खोजेको जस्तो देखिन्छ।
काठमाडौंबाट ८ जना उम्मेदवार पर्दा झापाबाट ६ जना प्रभावशाली स्थानमा परेका हुन्।
एमालेको समानुपातिक सूचीमा पुरानो पुस्ताका अनुभवी र नयाँ पुस्ताका जोशिलो अनुहारहरूको समिश्रण देखिएको छ। अब निर्वाचनमा पार्टीले पाउने लोकप्रिय मतको अनुपातका आधारमा यीमध्ये कतिजना संसदमा प्रवेश पाउँछन् भन्ने टुंगो लाग्नेछ।
निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये कम्तसमा ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा क्लस्टर मिलाउनुपर्ने अनिवार्य व्यवस्था छ। आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् तर बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले अब नाम फिर्ता लिन पाउने छैनन्।
बालेनलाई असर
काठमाडौंका पूर्व मेयर बालेन साहले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेछन्। झापाबाट समानुपातिक फाइनल सूचीमा देखिएका ६ अनुहार बालेनको सम्भावित 'क्रेज' रोक्न र आफ्नो परम्परागत भोट बैंक सुरक्षित गर्ने रणनीति पनि हो जस्तो देखिन्छ।
बालेनले 'युवा' र 'सिस्टम' को एजेन्डा बोकिरहँदा ओलीले झापाको दक्षिणी भेगका प्रभावशाली विद्यानन्द सिंह राजवंशीलाई समानुपातिकको सुरक्षित स्थानमा राखेर ती समुदायको मत एमालेमै होल्ड गर्न खोजेका छन्। यसले बालेनलाई भुइँ तहको मत तान्न कठिन बनाउन पनि सक्छ।
Shares

प्रतिक्रिया