राजनीति


प्रचण्डको भिडिओ सन्देश- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन

प्रचण्डको भिडिओ सन्देश- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन

नेपालखबर
माघ १८, २०८२ आइतबार १८:११, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार भिडिओ सन्देश दिँदै आफू पुराना नेताहरूको भिडमा रहेको र सत्ताको लोभ नभएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत जेनजी र युवालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि लड्ने बताएका छन्। ‘धेरैलाई लाग्न सक्छ, म र मजस्ता पुराना नेता एउटै हुन्। तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ,’ प्रचण्डले भनेका छन्, ‘म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु, मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’

 

उनले सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएपछि अब सत्ताको लोभ नभएको बताएका छन्। ‘एउटा मान्छेले आफ्नो जीवनमा जेजति गुमाउन सक्छ, मैले ति सबै गुमाए। तर मलाई के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन। यो ती हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालका लागि आफ्नो रगत बगाए,’ उनले भनेका छन्। 

आफूले परिवर्तन गरेरै छाड्ने उनले बाचा गरेका छन्। ‘मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन। परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि यो परिवर्तन भएरै छाड्नेछ,’ प्रचण्डले भनेका छन्। 

एउटा चर्चित भनाइ ‘या त तिमी नायक रुपमा मर या आफूलाई खलनायक बनेको हेर्न जिवित रहु’लाई उद्धृत गर्दै आफू खलनायकको रुपमा चित्रित हुन नचाहेको बताएका छन्। प्रचण्डले भावुक हुँदै भनेका छन्, ‘यदि म धेरै अघि बिदा भएको भए सायद, देशले मलाई नायकको रुपमा मात्रै सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्न। म यो देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’

उनले अब नयाँ नेता परिक्षण गर्ने समय नरहेको बताएका छन्। सामाजिक सञ्जालका पोस्टले भ्रम नपर्न युवालाई आग्रह गरेका छन्। प्रचण्डले भनेका छन्, ‘हामीसँग अर्को २० वर्ष परिक्षण र त्रुटी गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन।’

प्रचण्डको भिडिओ सन्देश अंश: 

आजका लागि यो घडी मेराका लागि केबल सत्ताको कुरा मात्र होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेनजीका छोराछोरीको सपनाको कुरा हो। 

धेरैलाई लाग्न सक्छ, म र मजस्ता पुराना नेता एउटै हुन्। तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ। 

म फरक छु, र म यो प्रमाणित गरेरै छाड्नेछु। मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ। 

व्यक्तिगत त्याग र संघर्षको भावना मेरो जीवनको यात्रा एउटा खुला किताब जस्तै छ। म त्यो पिता हुँ जसले आफ्नै आँखा अगाडि आफ्नी जेठी छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाउनुपर्‍यो। म त्यो श्रीमान हुँ, जसको जीवन संगिनीले बीच बाटोमै साथ छोडेर गइन्। 

मैले समयको चक्रमा आफ्ना परिवारका सदस्य मात्रै होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु। 

एउटा मान्छेले आफ्नो जीवनमा जेजति गुमाउन सक्छ, मैले ति सबै गुमाए। तर मलाई के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन। यो ती हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालका लागि आफ्नो रगत बगाए। 
मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन। परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि यो परिवर्तन भएरै छाड्नेछ। 

मेरा युवा साथीहरू, तपाईहरूले आज जे मागिरहनु भएको छ, भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार। ती मागहरू मैले जनयुद्धकै दिनदेखि उठाउँदै आएका माग र एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्दछ। 

यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ, भोगेका छौँ। त्यसैले म भन्छु,

तपाईहरूका माग र मेरो माग एउटै हो। म तपाईहरूकै पुस्ताको सोच बोकेर हिडेको यात्री हुँ। 

हलिउडमा एउटा चर्चित संवाद छ, या त तिमी नायक रुपमा मर या आफूलाई खलनायक बनेको हेर्न जिवित रहु। 

यदि म धेरै अघि बिदा भएको भए सायद, देशले मलाई नायकको रुपमा मात्रै सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्न । म यो देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। 

तपाईंहरूले मलाई कुन रुपमा हेर्नुहुन्छ, यो तपाईंहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर, मेरो अभावमा मेरो उपस्थितिको महसूस तब हुनेछ, जब तपाईहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नु हुनेछ। म हार मान्न तयार छैन। किनकि, मेरो काम अझै सकिएको छैन। 

म नयाँ विचारका लागि सधै खुला छु। म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसाथ गर्न तयार छु। तर, एउटा कुरा याद राख्नुहोस्, हरेक चम्किलो चिज हिरा हुँदैन। आजको यो डिजिटल युवमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईलाई भड्काउन सक्छ। कसैले तपाईलाई सानो महसूस गराउन नदिनुहोस् ।

म यहाँ तपाईहरूसँग भोट माग्न आएको होइन। म त तपाईहरूलाई स्वतन्त्र चिन्तका लागि अपिल गर्न आएको हुँ। प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुहोस्, म त्यसको सामान गर्न तयार छु। किनकि, मलाई थाहा छ, मेरो शक्तिको स्रोत तपाईहरू नै हो। 

हामीसँग अर्को २० वर्ष परिक्षण र त्रुटी गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन। हामीले गम्भिरतापूर्वक सोच्नुपर्दछ, म ती वीर सहिदहरूप्रति नमन गर्दछु, जसले नेपालको सुन्दर भविष्यका लागि आफ्नो ज्यानको आहुती दिनुभयो। 

आउनुहोस्, मिलेर एउटा यस्तो नेपाल बनाऔं, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेशिन नपरोस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad