ad ad

राजनीति


संसद बैठकका लागि उच्च सतर्कता अपनाइएको छ : सभामुख

संसद बैठकका लागि उच्च सतर्कता अपनाइएको छ : सभामुख

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ६:५१,

आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ।

कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

सांसदहरु बस्ने कुर्चीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ।

सभामुख सापकोटाले शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उच्च सतर्कता अपनाई बैठक सञ्चालन गर्न लागिएको बताए। उनले बैठक कक्षभित्र दूरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टिमको मापदण्ड अनुसार नै बैठक बस्न लागेको बताए। उनले सांसदहरु बस्ने कुर्सीको दूरी कायम गर्न दायाँ र बायाँ एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको बताए।

सभामुख सापकोटाले आजको बैठक नियमित एजेन्डाहरुको अतिरिक्त दलका नेताहरुले शुभकामना दिएपछि समाप्त हुने बताए। उनले २८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताए। २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी (प्रि–बजेट) प्रस्तुत गर्नेछन्। त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रि–बजेट माथि छलफल सुरु हुने छ।

२९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताए। त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ। जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्।

जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत हुने छ।

सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम् बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताएका छन्। यस अघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयकमाथिको छलफल नै सम्पन्न हुन सकेको थिएन्। सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नो तर्फबाट सकेसम्म भाग लिनको लागि अधिकतम उत्प्रेरित गर्ने बताए।

उनले भने, ‘जनताबाट निर्वाचित, जननिर्वाचित माननीय सदस्यहरुले त्यसमा भाग लिनुपर्छ। त्यसमा भाग लिएर जनताका आवाजहरु वहाँहरुले राख्नुभयो भने २ गते आउने नीति तथा कार्यक्रमलाई धेरै राम्रो सहयोग पुग्छ। किनभने के रै छ त जनताको आवाज करोडौं जनताले के चाहेका छन भन्ने कुरा हुन्छ र त्यसमा मलाई लाग्छ वहाँहरुले भाग लिनुहुन्छ भाग लिनका लागि मेरो तर्फबाट सके जति उत्प्रेरित गर्ने पहल कदमी हुन्छ तर त्यसमा निर्णय गरिरहन पर्दैन्’, सभामुख सापकोटाले भने। नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्न नपर्ने सभामुख सापकोटाले बताए।

त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कुरामा कुनै निर्णय नहुने भएकाले गणपुरक संख्याको आवस्यकता नहुने बताए। त्यस्तै जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यका लागि पनि सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्ननपर्ने उनले बताए। त्यसपछिका बैठकहरुमा गणपुरक संख्याको आवस्यकता पर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि आफुले अधिकतम् प्रयास गर्ने बताए। पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई पक्षबीच बढ्दै गएको विवादका कारण एकले अर्कोलाई असहयोग गर्न संसद बैठकमा नै अनुपस्थित हुने सम्मका रणनीति बनाइरहेको समाचारहरु बाहिर आएको थियो। सोही विषयलाई लिएर सभामुख सापकोटाले आफ्नो तर्फबाट बैठकमा भाग लिनका लागि आफ्नो तफबर््ाट उत्प्रेरित गराउन अधिकतम् पहल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .