राजनीति


लमजुङ : पृथ्वीसुब्बाको नवौँ यात्रामा बदलिएको कांग्रेस र रास्वपाको उदयले पुग्न सक्छ धक्का

लमजुङ : पृथ्वीसुब्बाको नवौँ यात्रामा बदलिएको कांग्रेस र रास्वपाको उदयले पुग्न सक्छ धक्का

वाशुदेव मिश्र
माघ १४, २०८२ बुधबार १६:३८, पोखरा

चार दशकअघि नयाँ अनुहार पृथ्वीसुब्बा गुरुङले पञ्चायतका अनुभवी नेतालाई चुनौती दिएका थिए भने अहिले नवौँ पटक चुनावी मैदानमा उत्रिँदा उनलाई नै नयाँ अनुहारले चुनौती दिइरहेका छन्। 

यो त्यो बेलाको कुरा हो, जुन बेला तत्कालीन मालेले पञ्चायत उपयोग गर्ने नीति लियो। पञ्चायतलाई कमजोर बनाउन पञ्चायतभित्रै पस्ने र हिर्काउने नीति अनुसार, २०४३ सालको राष्ट्रिय पञ्चायत चुनाव उपयोग गर्ने नीति पारित हुँदा ३२ ठाउँमा जनपक्षीय उम्मेदवार खडा गर्‍यो। मादल चुनाव चिह्नसहित लमजुङबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बने। लक्का जवान उनी त्यतिबेला ३० कटेकै थिएनन्। 

लमजुङ गिलुङ-टक्सार घर भएका पृथ्वीसुब्बासँग वर्गीय चेत थियो, मार्क्सवादी दर्शन थियो। उनले त्यही दर्शनमा आधारित रहेर घोषणापत्र बनाए। मादल चुनाव चिह्न भएका उनलाई चर्चित कलाकार उमा गुरुङ, माया गुरुङ, प्रेम गुरुङहरूले साथ दिए।

सांस्कृतिक टोलीसहित मत माग्न हिँड्दा उनको समूहले ‘त्यार्लुङ पुरानकोट, पृथ्वीसुब्बालाई दिनुस् आफ्नो भोट, दुष्ट शोषकलाई पर्नेछ ठूलो चोट’ लगायतका गीत गाउँथे। स्थानीय बासिन्दा ध्यानपूर्वक गीत सुन्थे। 

त्यो चुनावमा भूगोलविद् डा. हर्क गुरुङ पनि उम्मेदवार थिए। भूगोलविद् हर्क चुनाव लड्न आउने चर्चाबीच लमजुङको सीमाना पाउँदी खोलादेखि उताका सबैजसो भित्ता र ढुंगामा ‘हर्क गुरुङः फर्क लमजुङ’, ‘डा. हर्क : लमजुङ फर्क’, ‘विकासका लागि हर्क गुरुङ’ जस्ता नारा लेखिएका थिए। 

घैँटो चुनाव चिह्न लिएर उठेका हर्कसँगै त्यो चुनावमा पञ्चायतका खरो समर्थक मुनिन्द्रजंग गुरुङ, कांग्रेसी पृष्ठभूमिका जुंगे भनेर चर्चित लेखनाथ अधिकारी पनि चुनावी मैदानमा थिए। डा. डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मीले चाहिँ प्रचार गरे पनि अत्यतिर चुनावी मैदान छाडेका थिए। 

त्यो बेला लालटिन चुनाव चिह्नसहित उम्मेदवार बनेका लेखनाथबारे भनिन्थ्यो, ‘लेखनाथ गुरुङको भान्छामा पस्छन्, गुरुङ भाषामै कुरा गर्छन् र ढिँडो खाएर जुँगामा ताउ लगाउँदै बाहिर निस्कन्छन् रे! उनलाई गुरुङको भोट स्वाट्टै आउँछ।’ 

साँच्चै, २०४३ वैशाख २९ गते भएको निर्वाचनमा जनताले लालटिन चिह्नसहित चुनाव उठेका लेखनाथलाई पत्याए। जनपक्षीय उम्मेदवार बनेका पृथ्वीसुब्बा पछाडि परे। जनपक्षीय उम्मेदवार बनेकामध्ये कास्कीबाट सोमनाथ ‘प्यासी’, काठमाडौँबाट पद्यरत्न तुलाधर, चितवनबाट जागृतप्रसाद भेटवाल, झापाबाट द्रोण आचार्य र इलामबाट नोबल केबी राई विजयी भएका थिए। 

शिक्षण पेसा छोडेर यसरी राजनीतिमा हाम्फालेका पृथ्वीसुब्बाको राजनीतिक यात्रा पराजयले रोकेन। २०४६ सालको परिवर्तनपछि उनी लमजुङका निर्विकल्प नेतामा दरिए। २०४८ सालको संसदीय चुनावमा एमालेको तर्फबाट संसदीय प्रतिस्पर्धामा कांग्रेसका रामबहादुर गुरुङसँग पराजित भए। 

त्यसको तीन वर्षपछि २०५१ सालको मध्यावधिमा पनि उनलाई चुनाव फापेन। फेरि उनै रामबहादुरसँग हारे।

चुनावी हारले उनको राजीतिक यात्रा भने कमजोर बनाएन। २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा सम्पन्न छैटौँ महाधिवेशनमा नै उनले आफूलाई हालका एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभ्याइसकेका थिए। 

त्यस्तै, २०५४ सालमा एमाले विभाजित हुँदासम्म उनी कुशल संगठन र वैचारिक नेताको रूपमा स्थापित भइसकेका थिए। एमाले विभाजन हुँदा तत्कालीन गण्डकी अञ्चलको सिंगो कमिटी मालेतिर लागेपछि पृथ्वीसुब्बा वैकल्पिक केन्द्रीय सदस्यको रूपमा कमान्ड सम्हाल्न पोखरा आइपुगे। भाडाको कोठामा बसेर संगठन विस्तार गरे। मनाङ र मुस्ताङसम्म एमाले संगठन बनाएको श्रेय उनलाई नै जान्छ।

दशकपछि उनको चुनावी लडाइँले फरक मोड लियो। २०६४ सालमा देशैभर माओवादी लहर आउँदा पनि उनी विजयी बने। पहिलो संविधान सभामा उनले कांग्रेस नेता दिलबहादुर घर्तीलाई हराएका थिए।

संविधान सभामा पुगेपछि उनले संविधान निर्माण, जनजातिको अधिकारका लागि ‘ककस’कै नेतृत्व गरे। त्यो बेला पहिचानको मुद्दा बोक्ने अशोक राईहरूले एमालेमा विद्रोह नै गरे। तर, उनले एमाले र ओली छाडेनन्। 

एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङ।

त्यो अपजसको भारी यति महंगो भयो कि २०७० सालको संविधान सभाको चुनावमा उनीविरुद्ध जनजाति नेताहरूले नै लागे। पृथ्वीसुब्बाले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७२ मतले पराजय भोग्नुपर्‍यो।

संविधान बनेपछि २०७४ सालको निर्वाचनमा उनले संघीय संसद् छोडेर प्रदेश रोजे। सजिलै चुनाव जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री बने। त्यतिबेला प्रदेशका अधिकार माग्ने सवालमा उनी खरो सुनिए। केही दीर्घकालीन महत्त्वका काम पनि थाले तर नेकपामा आएको विभाजनसँगै २०७८ जेठ २७ मा पदमुक्त भए।

सरकार जोगाउन आपराधिक पृष्ठभूमिका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टीमा भित्र्याएको र मन्त्री बनाएको आलोचना खेप्नुपर्‍यो। तथापि, उनको कार्यकालमा उज्यालो गण्डकी, एक घर एक धारा, प्रदेश र पालिका एवं पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक निर्माणलगायतका कामले प्रशंसा पाए। 

पृथ्वीसुब्बा अर्को कार्यकाल पनि मुख्यमन्त्री नै बन्न चाहन्थे। उनी भन्थे, ‘म पहिल्यै पनि संघीय मन्त्री भइसकेको छु। त्यहाँ बसेर आफूखुसी निर्णय गर्न र चाहेको काम गर्न पाइँदैन। प्रदेश अधिकार सम्पन्न हुँदा काम गरेर देखाउन सकिन्छ। म अर्को कार्यकाल पनि यतै बस्छु।’ उनी २०६४ सालमा पर्यटनमन्त्री भइसकेका थिए।

उनले सोचे जसरी प्रदेशमै बस्न पाएनन्। प्रदेश सरकारबीचमै छाड्नुपरेको पीडाबीच एमालेले उनलाई २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गर्‍यो। आठौँ पटक चुनावी मैदानमा उत्रिएका उनले आफ्ना मित्र माओवादीका देवप्रसाद गुरुङसँग प्रतिस्पर्धा गरे।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत र देवले ३१ हजार ७८१ मत प्राप्त गरे। तीन हजार १८८ मतले चुनाव जिते। त्यो बेला माओवादीलाई कांग्रेसले सघाएको थियो। एक लाख ३३ हजार ५५९ मतदाता रहेको लमजुङमा ८० हजार १९२ मत खसेका थिए। त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीले ९ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले दुई हजार २३१ मत पाएका थिए। 

यतिबेला उनी नवौँ पटक चुनावी मैदानमा उत्रिएका छन्। अहिले उनी न चार दशकअघि जस्तो नयाँ अनुहार छन् न त आलोचनारहित। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट विस्थापित सरकारका प्रवक्तासमेत रहेका पृथ्वीसुब्बा आलोचित बनेका थिए। सरकारको प्रवक्ताको रूपमा उनले दिएका अभिव्यक्ति र एमालेप्रति बढेको आलोचना तथा नयाँ राजनीतिक दलहरूको उदयका कारण उनी अघिल्लो पटकजस्तो ‘सेफ जोन’मा छैनन्। रक्षात्मक बन्दै चुनावी अभियानमा सक्रिय बनिरहेका छन्। 

एमालेका कार्यकर्ताले चाहिँ उनलाई संकटको बेला राष्ट्रिय राजनीतिको ‘मियो’ बन्ने वैकल्पिक नेताको रूपमा व्याख्या गरिरहेका छन्। ‘उहाँ एमालेको उपाध्यक्ष हो, हिजो संविधान लेख्ने मान्छे, सबैलाई मिलाउने र मध्यमार्गी धारको नेतृत्व गर्नसक्ने नेता हो,’ एमाले गण्डकीका सचिव धनञ्जय दवाडी भन्छन्, ‘पार्टीसँग सरकार बनाउने प्लान ए, प्लान बी र प्लान सी पनि हुन्छ। उहाँ पार्टीको योजना अनुसार नै नेता बन्नुभएको हो। जस्तोसुकै जिम्मेवारी लिन पनि काबिल हुनुहुन्छ। संसद्‌मा कसैको बहुमत नहुँदा सर्वस्वीकार्य व्यक्तिको खोजी हुँदा उहाँ सक्रिय बन्नुहुन्छ।’

यतिबेला लमजुङबाट कुनै दलको नेतृत्व तहमा पुग्ने पृथ्वीसुब्बा एक्ला नेता हुन्। तर उनी आलोचनामुक्त छैनन्। अघिल्लो चुनावमा माओवादीका उपाध्यक्ष देव गुरुङलाई पराजित गर्दै संसद् यात्रा सुनिश्चित गरेका पृथ्वीसुब्बामाथि पटक-पटक आफैँ उम्मेदवार बनेको र पुस्तान्तरणलाई नसघाएको आरोप छ।

एमालेको नवौँ महाधिवेशनमा सचिव बनेका उनी १०औँमा उपमहासचिव मनोनीत भएका थिए। त्यस्तै, २०८१ असार ३१ मा तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाएका थिए। सरकारको प्रवक्ता पनि तोकिए।

सरकारको प्रवक्ताको रूपमा उनी ओलीको बचाउमा उभिन थाले। मुख्यमन्त्री हुँदाको जस्तो उनले आफूलाई मन नपरेको कुरा बोल्न सकेनन्। गत भदौमा सरकारले सामाजिक सञ्जाल बन्द गराउने निर्णय गर्‍यो। मन्त्रिपरिषद्को बैठकलगत्तै निर्णय सुनाएका सरकारका प्रवक्ता पृथ्वीसुब्बाले त्यतिबेलै आलोचना खेप्नुपर्‍यो। पछि झन्‌झन्‌ बढ्दै गयो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवास पनि जलाइयो।

‘मन्त्रिपरिषद् भनेको प्रधानमन्त्रीको हो। मैले क्याबिनेटले गरेको निर्णयमा यताउता गर्न मिल्दैनथ्यो। कि सरकारमा बस्नै हुँदैनथ्यो, हैन भने मैले त्यो जानकारी जस्ताको त्यस्तै दिनुपर्थ्यो,’ आफू आलोचित भएको स्वीकार गर्दै पृथ्वीसुब्बाले नेपालखबरसँग भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने र यहाँ दर्ता हुन नआउनेहरूलाई दर्तामा आऊ भन्नु सरकारको कर्तव्य र दायित्व दुवै थियो। यो कुरा समयक्रममा प्रष्ट हुने नै छ। तर, जेनजीको नाममा जे भयो, त्यो चाहिँ अपराध नै थियो।’

जेनजी आन्दोलनपछि भएको एमालेको ११औँ महाधिवेशनको क्रममा उनी अध्यक्ष ओली खेमाभन्दा बाहिर निस्कन्छन् कि भन्ने धेरैको आकलन थियो। तर, पृथ्वीसुब्बा ओलीको पक्षमै उभिए। एमाले नेताहरूका अनुसार, उनलाई अध्यक्षकै रूपमा प्रस्तुत गराउन पनि एउटा समूह सक्रिय थियो। कम्तीमा आफूले दाबी गरेको महासचिव नछाड्न पनि उत्तिकै दबाब दिँदा पनि उनले मन डुलाएनन्। 

बरु, ओलीले दिएको उपाध्यक्ष पदमा उम्मेदवार बने। सर्वाधिक मत पाए। त्यसयता उनी मौन छन्। किन त? पृथ्वीसुब्बा भन्छन्, ‘संकटमा नेतृत्वलाई जोगाउने नै हो। पार्टीभित्रको कुरा पार्टीभित्रै राख्ने हो। सधैँ विद्रोह गर्न उक्साउनेहरूसँग पनि जोगिनुपर्दो रहेछ।’

पार्टीमा सर्वाधिक मतले जिते पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा भने प्रतिस्पर्धाविहीन छैनन्। राप्रपाका केविन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ, नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेकपा (माओवादी) का रवीन्द्र नखोला, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरिजंग तामाङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे प्रतिस्पर्धामा छन्। रास्वपाका धर्मराज केसी २०७९ सालमा पनि उम्मेदवार बनेका थिए भने बाँकी सबै नयाँ अनुहार हुन्।

कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङ।

अहिले कांग्रेस एक्लै मैदानमा छ। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नयाँ उत्साहसाथ चुनावी मैदानमा होमिएको छ भने स्थानीयस्तरमा राम्रो प्रभाव रहेका गमप्रसाद गुरुङ उम्मेदवार छन्। पृथ्वीसुब्बा र गमप्रसाद क्व्होलासोथार गाउँपालिकाका बासिन्दा हुन्। गमप्रसादको घर क्व्होलासोथार-८, घाम्राङ हो भने पृथ्वीसुब्बाको क्व्होलासोथार-९, टक्सार।

गमप्रसाद कांग्रेसको १४औँ महाविधेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए। अहिले जिल्ला सदस्य रहेका उनी २०५४ सालमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा गएका थिए। पछिल्लो समय भने उनी थापा समूहमा सक्रिय छन्।

कांग्रेसको जिल्ला सभापतिमा विजयी डा. टकराज गुरुङ प्रदेशको अर्थमन्त्री भइरहँदा अहिले दुवैबीच मेल छ। मर्स्याङ्‌दी पारिका टकराज र वारिका गमप्रसादको मन मिल्दा कांग्रेसका नेता तथा कार्यकर्ता हौसिएका छन्।

‘गमप्रसाद दाइ भनेको सादगी नेता हो। गाउँमा नै बस्नुहुन्छ। सामाजिक काम गर्नुहुन्छ। दुःखसुखमा साथ दिने नजिकको मित्र हो,’ कांग्रेसका तर्फबाट क्व्होलासोथार गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका युवा नेता टेक गुरुङ भन्छन्, ‘लमजुङ सिप विकास प्रतिष्ठान, लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्दीका संस्थापक उहाँ नै हो। सामाजिक कार्यसँगसँगै आफ्नै गाउँ भोजेमा जडिबुटी तथा फलफूल खेती गरिरहनुभएको छ। उहाँ जेनजीले चाहेको र जनताले भरोसा गर्ने नेता हो।’

त्यस्तै, रास्वपाले लमजुङको सुन्दरबजारका युवा धर्मराज केसीलाई नै मैदानमा उतारेको छ। अघिल्लोपटक छोटो समयको तयारीमै तेस्रो स्थानमा आएका थिए। उनले नौ हजार ३३ मत ल्याएर चर्चा कमाएका थिए। त्यसयता उनले लमजुङका ७२ वटै वडामा संगठन बिस्तार गरेका छन्। जसको बलमा उनी चुनावी अभियानमा जुटेका छन्। 

अघिल्लोपटक पुराना दललाई चुनौती दिएका धर्मराजसँग अहिले चुनावी अभियानमा खटिने कार्यकर्ता मात्र होइन, रणनीति पनि छ। सामाजिक सञ्जालमार्फत् उनले चुनावी खर्च दिन देश-विदेशमा रहेका नागरिकसँग आग्रह पनि गरिरहेका छन्।

लमजुङमा सशस्त्र द्वन्द्वको समयदेखि नै माओवादीको राम्रै प्रभाव छ। अहिले माओवादी र नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका हरिजंग तामाङ नयाँ अनुहार हुन्। उनको युवामाझ राम्रो पकड छ।

त्यस्तै, राप्रपा उपाध्यक्ष हेमजंग गुरुङको गृहजिल्लामा राप्रपा पनि प्रतस्पिर्धा छ। राप्रपाले केविन्द्रजंग गुरुङलाई उम्मेदवार बनाएको छ।

यस पटक लमजुङबाट एक लाख ३७ हजार १२४ मतदाता छन्। २०७९ सालको चुनावमा समानुपातिकतर्फ एमालेले ३१ हजार १७८, कांग्रेसले २७ हजार ७९६ र माओवादीले ६ हजार ४८३ मत पाएको थियो। त्यस्तै, रास्वपाले ८ हजार २१७, राप्रपाले २ हजार ३०८, नेकपा (एकीकृत समाजवादी)ले ५९२, नेसनल मंगोल अर्गनाइजेसनले ४९७ र जसपाले २६१ मत पाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad