भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका सर्लाहीका बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
०६२ मा गठन भएको चुरे भावर पार्टीका संस्थापकमध्येका एक न्यौपाने पछिल्लो समय सो पार्टीका अध्यक्ष थिए। चुरेभावर आन्दोलनको बलमा एकपटक समानुपातिक सांसदबाट मन्त्रीसमेत बनेका न्यौपानेले यसबीचमा आधा दर्जनजति पार्टी चहारिसकेका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा दुई पार्टीबीचको एकतासम्बन्धी सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष न्यौपानेले हस्ताक्षर गरेका छन्।
न्यौपानेले त्यस्ता पात्र हुन्, जसलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दुई वर्षअघि नै पार्टीबाट हटाएको थियो। प्रभु साहले पार्टीबाट हटाएपछि उनले आफूलाई फेरि चुरे भावर पार्टीको नेताको रूपमा चिनाउन थालेका थिए।
तत्कालीन माओवादीबाट डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला न्यौपानले चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए।
मन्त्री हुँदा न्यौपानले भृकुटीमण्डपस्थित फनपार्क जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले २०७९ फागुन २६ गते उनलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ जरिवाना र तथा त्यही बराबरको बिगो असुल गर्न आदेश दिएको थियो।
त्यतिबेला भृकुटी मण्डपको जग्गा प्रकरणमा न्यौपानेसहित ९ जनालाई अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।
न्यौपानले अदातलबाट दोषी ठहर भएपछि आजपाले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। आजपाले पार्टीबाट हटाएपछि उनी केही समय राजावादी अभियन्ता दुर्गा प्रसाइँसँगसमेत निकट भएका थिए।
सर्लाहीको हरिवन नगरपालिका-२ अत्रौली घर भएका न्यौपानेको राजनीतिक पृष्ठभूमि भने नेपाली कांग्रेस हो।
०६३-०६४ मा मधेस आन्दोलनका बेला कांग्रेस छाडेर चुरे भावर पार्टीमा आवद्ध भएका न्यौपानले ०६४ को संविधानसभा निर्वाचनपछि समानुपातिक सांसद बनेका थिए।
मन्त्रीबाट हटेपछि उनी उनी चुरे भावर पार्टी छाडेर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपामा प्रवेश गरेका थिए। त्यतिबेला उनी नेकपाको केन्द्रीय सदस्यसमेत भए। नेकपा फुटेपछि भने उनी एमालेतिर लागे। एमालेले उनलाई केन्द्रीय सदस्य बनाएको थियो।
एमालेबाट सांसद हुने सम्भावना नदेखेपछि उनले २०७९ सालको निर्वाचनअघि एमाले त्यागेका थिए।
त्यसपछि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका थिए। एकपटक उनी आजपा को बागमती र गण्डकी प्रदेश तथा विदेश विभाग इन्चार्जसमेत बनाएका थिए।
बद्री न्यौपानलेलाई प्रचण्डले नेकपामा भित्र्याएकोप्रति नेकपा सर्लाहीका एक नेताले भने असन्तुष्टि व्यक्त गरे।
‘उनी (न्यौपाने) नेकपामा आएर यहाँ हाम्रो मत बढ्दैन, आलाेचना मात्रै बढ्छ,’ ती नेताले भने, ‘उनलाई सर्लाहीमा कसैले पत्याउँदैनन्। पूर्वमन्त्री भन्ने लोगोमात्रै छ उनको। जनमत केही पनि छैन। मलाई सोधेको भए म उनलाई पार्टीमा भित्र्याउनु हुँदैन भन्ने थिएँ। अध्यक्षले भित्र्याउनु भएछ। हामीले के भन्नु?’
Shares

प्रतिक्रिया