राजनीति


मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ: डा. सीके राउत

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ: डा. सीके राउत

नेपालखबर
जेठ २५, २०८३ सोमबार १२:३२, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। 

सोमबार माइतीघर मण्डलमा जनमत पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको आरोप लगाए। जहिल्यै मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको उनको भनाइ थियो। 

राणा शासनकालमा मधेसमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उनले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए। २००७/८ सालपछि कांग्रेस र कम्युनिस्टहरुले सत्ताको नेतृत्व गरे पनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाइ थियो। 

‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे, कांग्रेस कम्युनिस्टहरूले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ,’ राउतले भने, ‘२००७/८ सालमा कांग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकत्ता नदिने, सुकुम्वासीहरूलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रुपले ठगी गर्दै आएको छ।’

नागरिकता, सुकुम्वासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेसको माग पूरा हुन नसकेको उनको भनाइ थियो। उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेसीहरू ठगिएको बताए। 

‘मत चाहीँ मधेसबाट लिने, सरकार चाहीँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहीँ नदिने षड्यन्त्र हुँदै आएको छ,’ अध्यक्ष राउतले भने, ‘त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरू ठगिएइको हामीकहाँ प्रमाण छ।’

मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनको भनाइ थियो। 

उनले मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे। मधेसको माग सम्बोधनको लागि जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad