राजनीति


सर्लाही पुगेर गगनको प्रश्न- पहिले मधेसका शिक्षक पहाड गएर पढाउँथे, अहिले मधेसका विद्यार्थी किन कमजोर भए?

सर्लाही पुगेर गगनको प्रश्न- पहिले मधेसका शिक्षक पहाड गएर पढाउँथे, अहिले मधेसका विद्यार्थी किन कमजोर भए?

सर्लाहीमा भेटघाट कार्यक्रममा बोल्दै गगन थापा। तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ १२, २०८२ सोमबार १८:१, काठमाडौँ

चुनावी प्रचारका लागि सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसमा गणित, विज्ञानमा विद्यार्थी कमजोर भएको उल्लेख गर्दै यसको समाधान खोज्ने बताएका छन्। 

सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै थापाले मधेसमा गणित, विज्ञान र अंग्रेजी सुधार्नुपर्ने बताए। उनले मधेसको इतिहास कोट्याए। ‘कुनै वेला मधेसको मान्छे नगईकन पहाड, हिमालमा गणित, विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने। 

अबको केही दशक नेपालको आम्दानीको प्रमुख स्रोत सूचना प्रविधि हुने बताए। त्यसका लागि  गणित, विज्ञान राम्रो हुनुपर्ने उनको भनाइ थियो। 

‘अबको १२–१५ वर्ष नेपालको आम्दानीको ठूलो स्रोत भनेको सूचना प्रविधि हो। सूचना प्रविधिका लागि केटाकेटी वेलादेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ,’ थापाले थपे, ‘मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्नसक्नु भयो।’

तर, अहिले मधेसको अवस्था फेरिएको बताए। ‘त्यो इतिहास भएको मधेसमा आज गणित, विज्ञान र अंग्रेजमा सबैभन्दा कमजोर मधेसका विद्यार्थी भएको अवस्था छ,’ थापाले भने, ‘हिजो मैले यो प्रश्न संसद्मा उठाए, आज यसको उत्तर खोज्न आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु।’

यसका लागि आफ्नो टिमले काम गरिरहेको उनले बताए। केही दिनदेखि शिक्षा र स्वास्थ्यबारे आफ्नो टिमले काम गरिरहेको र आगामी पाँच वर्षमा समाधान दिने उनको भनाइ थियो। 

केही वर्षअघि हुलाकीको राजमार्गको यात्रा गर्दा नै मधेस आउने मन बनाएको उनले सुनाए। ‘केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा मधेस आउँछु, यहाँका साथीहरूको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको हो,’ उनले भने। 

त्यतिवेला आफ्नो मनमा केही प्रश्न उठेको बताए। ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान पुर्‍याएको, यति धेरै सहिद भएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको मधेसले सिंगो नेपालभित्र जुन मान, सम्मान प्राप्न गर्नुपर्ने हो, किन नपाएको होला? त्यो प्रश्न मैले धेरै पटक उठाए,’ थापाले भने, ‘तर म प्रश्न उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने गरी तपाईको प्रतिनिधि बन्न यहाँ आएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad