राजनीति


डोल्पामा दाजु-भाइको भिडन्तमा एमालेको छिर्के दाउ

डोल्पामा दाजु-भाइको भिडन्तमा एमालेको छिर्के दाउ

सागर न्यौपाने
माघ १२, २०८२ सोमबार १०:५०, काठमाडौँ

डोल्पा जिल्लाले २०१५ सालमा भएको आम निर्वाचनमा आफ्नो प्रतिनिधि पाएन। किनिक यो जिल्ला छुट्टै अस्तित्वमा थिएन।

२०१९ यताका चुनावमा भने डोल्पाले लगातार रोचक नतिजा दिँदै आएको छ। राष्ट्रिय पञ्चायत सदस्यका लागि २०१९ सालमा भएको चुनावमा लक्ष्मीशरण शर्मा निर्वाचित भए।

२०२५ सालमा भएको अर्काे चुनावमा कमलबहादुर बुढा निर्वाचित भए। उनले नरबहादुर बुढालाई हराए। २०३० सालमा फेरि अर्काे चुनाव भयो, कमलबहादुरलाई हराएर नरबहादुर निर्वाचित भए। 

२०३४ सालमा भएको चुनावमा मोतीप्रसाद पहाडी निर्विरोध निर्वाचित भए। 

फेरि २०३८ सालमा अर्काे चुनाव भयो, यसपटक पनि पहाडीले नरबहादुर बुढालाई पराजित गर्दै जित निकाले।

त्यसको पाँच वर्षपछि २०४३ सालमा भएको अर्काे चुनावमा उनै नरबहादुर बुढाथोकी बागबहादुर शाहीलाई हराउँदै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भए।

यो त, पञ्चायतको कुरा भयो। 

२०४८ सालमा आम निर्वाचन भयो। जसमा नेपाली कांग्रेसका क्यामु बुढा निर्वाचित भए। २०५१ सालमा मध्यावधि निर्वाचन भयो, जसमा राष्ट्रिय पञ्चायत भइसकेका मोतीप्रसाद पहाडीले कांग्रेसबाट बागी उम्मेदवारी (स्वतन्त्र) दिएर जित निकाले। राप्रपाका कर्णबहादुर बुढा पराजित भए। 

त्यसको पाँच वर्षपछि २०५६ सालमा अर्काे आम चुनावमा राष्ट्रिय पञ्चायत सदस्य भइसकेका नरबहादुर बुढा एमाले प्रवेश गरेर निर्वाचित भए। उनीसँग फेरि कर्णबहादुर बुढा पराजित भए।

२०६४ सालमा भएको पहिलो संविधान सभाको चुनावमा कर्णबहादुर तेस्रो पटक पनि उठे। तर, नेकपा माओवादीका रामबहादुर बोहराले उनलाई हराए। संविधानसभाको दोस्रो चुनावमा कर्णबहादुर उठेनन्। सहोदर भाइ धनबहादुर बुढालाई छोडिदिए। धनबहादुर राप्रपाबाट कांग्रेस हुँदै एमाले प्रवेश गरेका थिए। टिकट पाएपछि उनी विजयी भए।

२०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल भएकोले उनैले टिकट पाए र जिते।

२०७८ भदौमा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्यो। ०७९ मा भएको प्रतिनिधि सभाको चुनावमा एकीकृत समाजवादीसहित कांग्रेस, माओवादीको पाँच दलीय गठबन्धन बन्यो र धनबहादुरले जित निकाले।

चौथो पटक जित्न चाहन्छन् धनबहादुर
जेनजी आन्दोलनको कारण संसद् विघटन भएपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ। २४ हजार १ सय ४५ जना मतदाताको मन जितेर सिंहदरबारको यात्रा तय गर्न एक स्वतन्त्रसहित ९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। तर, यो निर्वाचन  एउटै परिवारका सदस्यबीच दशकौँदेखिको संघर्षको निरन्तरता पनि हो।

तीनपटक निर्वाचित धनबहादुर बुढा र लडेको जति चुनाव हारेका कर्णबहादुर बुढा दाजुभाइ हुन्। जो फरकफरक पार्टीबाट प्रतिस्पर्धामा होमिएका छन्।

दाजु कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उठेका छन् भने भाइ धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टीबाट उठेका छन्।

धनबहादुर चौथो जितको खोजीमा हुँदा दाजु कर्णबहादुर पहिलो जित निकाल्ने लक्ष्यमा छन्। दाजुभाइ भिडेको फाइदा लिने दाउमा नेकपा एमालेका लंकबहादुर रोकाया छन्। 

त्यसो त डोल्पामा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीले २६ वर्षीय विकास बुढालाई उठाएको छ। रास्वपाले इन्जिनियर देवसिंह ऐडी उम्मेदवार बनाएको छ। मितेरी नेपालले जुनु भण्डारीलाई उम्मेदवार बनाएका छन्। यस्तै, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, राप्रपाका हरि डाँगी मैदानमा छन्। 

डोल्पाको यसपटकको चुनावमा नेकपा, कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीय बताउँछन्। 

लगातार तीन वटा चुनाव जितेका धनबहादुर चौथो जित निकाल्न प्रयास गरिरहेका छन्।

‘अहिलेसम्म जनतासँग जोडिएको छु, जिल्लाको विकास निर्माण, पब्लिकका समस्या समाधानमा जोड दिएको छु,’ उनले भने, ‘अहिलेसम्म राम्रै छ।’

त्यसबाहेक केही दलसँगको एकताको कारण माहोल बढ्न थालेको उनको भनाइ छ। 

३४ वर्षपछि कमब्याकको प्रयासमा कांग्रेस, लंकलाई निकाल्नु छ पहिलो जित
कर्णबहादुरले राजनीतिको सुरुवात राप्रपाबाट गरे। डोल्पाको राजनीतिमा पञ्चायतकालीन नेताहरूको वर्चस्व रहेकोले उनी राप्रपा बनेको बताउँछन्।

२०५१, ०५६ र ०६४ सम्म राप्रपाकै टिकट लिएर उनी चुनाव लडे तर, जित्न सकेनन्। ०७० र ०७४ को चुनाव भने उनले लडेनन्, बरु भाइ धनबहादुरलाई सहयोग गरे।

‘दुई वटा चुनावमा मैले भाइलाई सहयोग गरेकै हो,’ कर्णबहादुरले नेपालखबरसँग भने।  

उनी २०७६ सालमा कांग्रेस प्रवेश गरे। संगठन बनाउन थाले तर, ०७९ को प्रतिनिधि सभाको चुनाव उठ्न खोज्दा टिकट पाएनन्। 

‘०७९ सालमा पनि गठबन्धन भएपछि टिकट पाइनँ अनि सपोर्ट गर्नुपर्ने बाध्यता भयो,’ उनले थपे। 

कांग्रेसको पुस २७–३० सम्म भएको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री बनेका कर्णबहादुर १८ वर्षपछि डोल्पाबाट फेरि चुनाव लड्दैछन्। २०४८ पछि भएका कुनै चुनाव कांग्रेसले नजितेको अवस्थामा कर्णबहादुर सहोदर भाइसँग प्रतिस्पर्धामा उत्रिएका छन्। त्यसमाथि डोल्पामा कांग्रेसको संगठन कमजोर रहेको उनी बताउँछन्।

‘अहिले दुइ भाइको भिडन्त हुनेभयो। मैले टिकट पाएँ,’ उनले भने, ‘पार्टी फरक पर्‍यो, सिद्धान्त फरक पर्‍यो अनि चुनाव लड्नैपर्‍यो। यो सैद्धान्तिक लडाइँ हो।’ 

तर, मतदाताले आफूलाई रोज्ने उनको भनाइ छ। 

‘मैले गलत काम गरेको छैन, इमानदार, र निष्कलंक मान्छे हुँ। पद नभए पनि जनताको काममा भिडेको छु। आधार यही हो,’ उनले थपे,  ‘मेरो भाइले लामो समय पदमा रहँदा राम्रो काम नगरेकोले यहाँका जनता आक्रोशित छन्, स्वार्थका लागि पार्टी परिवर्तन गरेको भनेर मान्छेमा नकारात्मक धारणा बनेको छ।’

नेकपा एमालेले डोल्पा जिल्ला अध्यक्ष लंकबहादुर रोकायालाई चुनावमा उतारेको छ। २०७४ र २०७९ को स्थानीय चुनावमा मुड्केचुला गाउँपालिका अध्यक्षमा पराजित भएका ३६ वर्षे रोकाया ‘बुढा दाजुभाइ’को प्रतिस्पर्धाबाट फाइदा लिने दाउमा छन्।

‘जिल्लामा हाम्रो संगठन मजबुत छ। बाहिर हेर्दा ठीक छ,’ उनले भने, ‘डोल्पाको कुल मतदातामध्ये त्रिपुरासन्दरी, ठूलीभेरी गाउँपालिका, मुड्केचुला गाउँपालिका  र जगदुल्ला गाउँपालिकामा १८ हजार मत छ। यो क्षेत्रबाट २५ वर्षपछि मेरो एकल उम्मेदवार भएकोले म बलियो उम्मेदवार हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad