खोटाङमा पाँच पटक चुनाव लडेका विशाल भट्टराई यसपटक प्रतिस्पर्धाबाट बाहिरिए। उनीसँगै प्रतिस्पर्धा गरिसकेका कांग्रेसका ६ जना उम्मेदवार पनि यसपटक मैदानमा छैनन्। विशाल भट्टराईले २०५६ सालयता प्रतिस्पर्धा गरेका सबै नेता बाहिरिँदा नेपाली कम्युनिस्ट पार्टीबाट हरि रोका भने फर्किएका छन्।
२०५६ सालमा मालेबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका रोका यसपालि नेकपाले तारा चिन्ह लिएलगत्तै पुनः उम्मेदवार बन्ने संयोग मिल्यो। अब उनको एमालेका देवविक्रम राई र कांग्रेसका वीरकाजी राईसँग मुख्य प्रतिस्पर्धा हुने जिल्लाका नेताहरुको आकलन छ।
२०५६ सालमा विशाल भट्टराईले एमालेबाट पहिलो पटक चुनाव लड्दा हरि रोका एमालेबाटै फुटेको मालेबाट तारा चुनाव चिन्ह लिएर उठेका थिए। तर, पार्टी फुटको फाइदा कांग्रेसले लियो। २०५६ सालमा कांग्रेसबाट क्षेत्र नं १ मा सर्वधन राई, र २ मा शिवकुमार बस्नेत विजयी भए। तर यो चुनावमा सर्वधन र शिवकुमारसँगै त्यसपछि उम्मेदवार बनेका कांग्रेसका सुवासकुमार पोखरेल, विष्णुकुमार राई, नरेशकुमार श्रेष्ठ र सरस्वती वजिमय पनि यसपटक मैदानमा छैनन्।
२०६४ सालपछि चुनाव लडेका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टीबाट (यसअघिका माओवादी) पनि प्रतिस्पर्धामा छैनन्। तत्कालीन माओवादीबाट चुनाव लडिसकेका रामकुमार राई, समिता कार्की, देवन किराती, दुर्गाजयन्ती राई पनि यसपटक चुनाव लड्दै छैनन्।
हरि रोका २६ वर्षपछि फर्किंदा एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ। कांग्रेसबाट महाधिवेशन प्रतिनिधि एवम् पूर्व जिल्ला सचिव वीरकाजी राई प्रतिस्पर्धामा छन्।
नेपाली कम्युनिस्ट पार्टीले भने पछिल्लो समय पार्टीमा क्रियाशील नरहेका अर्थशास्त्री एवम् राजनीतिक विश्लेषक हरि रोकालाई अगाडि सारेको हो। उनी २०६४ सालमा मनोनीत संविधान सभा सदस्य हुन्। त्यतिबेला सरकारले २६ जना मनोनीत गर्ने व्यवस्था थियो। त्यसमध्ये माओवादीको कोटाबाट रोका पनि परेका थिए।
तर त्यसपछि राजनीतिबाटै टाढिँदै कृषिमा लाग्छु भनेर खोटाङ फर्किएका रोकालाई नेपाली कम्युनिस्ट पार्टीले टिकट थमायो।
जिल्लामा १३ वटा दल र दुई स्वतन्त्रसहित १५ उम्मेदवार छन्। खोटाङमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव पनि फैलिँदैछ। श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईले उम्मेदवारी दिएका छन्।
जनता समाजवादी पार्टीबाट राकेश राई, नेकपा (माओवादी) बाट केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट जिल्ला अध्यक्ष सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङको मनोनयन दर्ता भएको छ। डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यससँगै फागुन २१ को चुनावले खोटाङबाट नयाँ सांसद पठाउने पक्का भएको छ।
पहिले दुई वटा निर्वाचन क्षेत्र रहेको खोटाङमा समायोजनपछि एउटै मात्र निर्वाचन क्षेत्र छ। पछिल्ला दुई चुनावमा खोटाङको प्रतिस्पर्धा खास रोचक भएन। ठूला दलहरुले नै गठबन्धन गरेपछि एकतर्फी नतिजा आयो।
२०७९ को निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार रामकुमार राई कांग्रेससँगको गठबन्धनबाट विजयी भए। तर २०७४ सालको निर्वाचनमा माओवादीले एमाले नेता विशाल भट्टराईलाई सांसद बन्न सघायो।
२०६४ सालमा दुवै क्षेत्रमा माओवादीले जित्यो। क्षेत्र नं १ बाट रामकुमार राई र क्षेत्र नं २ बाट समिता कार्की विजयी भए। तर माओवादीले २०७० सालको निर्वाचनमा जित कायम राख्न सकेन। त्यो चुनाव एमालेमय बन्यो। पाँचकर्ण राई र विशाल भट्टराईले संसदको यात्रा गरे।
कांग्रेसले खोटाङबाट २०५६ सालयता संसदको ढोका खोल्न सकेको छैन। त्यतिबेला सर्वधन राई र शिवकुमार बस्नेत विजयी भएका थिए। त्यसपछि गएको निर्वाचनमा माओवादीसँग मिलेर कांग्रेसका भूपेन्द्र राई प्रदेश सांसद बने। संघमा भने कांग्रेस उम्मेदवारले विजयी ¥याली निकाल्न नपाएको २६ वर्ष भयो। गएको निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसले माओवादीका रामकुमार राईलाई सहयोग ग¥यो र जिताएर पठायो।
कांग्रेसले खोटाङमा नेता फेरीफेरी चुनावमा उठायो। तर, कसैले पनि पार लगाउन सकेनन्। २०६४ सालको निर्वाचनमा सुवासकुमार पोखरेल र शिवकुमार बस्नेत उम्मेदवार बने, दुवै हारे। अर्को चुनावमा दुवै क्षेत्रमा उम्मेदवार फेरिए, नतिजा भने फेरिएन।
२०७० को निर्वाचनमा क्षेत्र नं १ बाट नरेशकुमार श्रेष्ठ र क्षेत्र नं २ बाट विष्णुकुमार राई पराजित भए। एउटा क्षेत्र बनेपछि २०७४ सालको निर्वाचनमा संघमा सरस्वती वजिमयले, प्रदेशमा सुवासकुमार पोखरेल र विष्णुकुमार राईले प्रतिस्पर्धा गरे। वाम गठबन्धनसँग तीनै वटा सिटमा पराजित भए। त्यो चुनावमा संघमा विशाल भट्टराई, प्रदेशमा राजन राई र रामकुमार राई विजयी भए।
तर यी जित्ने र हार्ने उम्मेदवार यसपटक खोटाङको प्रतिस्पर्धामा छैनन्। उम्मेदवार नयाँ भए पनि पुराना तीन दल आफै जित्ने दाबी गर्छन्। उनीहरुका दाबीका पछाडि केही कारण पनि छन्।
हाम्रो सांगठनिक मत नै बढी छ : एमाले
खोटाङमा पछिल्ला चुनावमा सबैभन्दा बढी मत एमालेकै छ। केन्द्रीय सदस्य विशाल भट्टराई ५ पटक चुनाव लड्दा तीन पटक पराजित भए।
यसपटक गठबन्धन नहुँदा उनको पनि माहोल राम्रै थियो। पटकपटक भट्टराईले टिकट लिएको भन्दै एमालेमा असन्तुष्टि बढ्दै थियो। त्यसकारण पनि छैटौँ चुनावमा आएर उनले मैदान खाली गरे र जिल्ला अध्यक्षलाई अगाडि सारे।
तर भट्टराईले टिकट नपाएपछि उनी निकट कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए।
‘धेरै पल्ट भयो, अतिचारै भयो भनेर यसपालि चाहिँ बिदा लिएको। हार्ने भयले छाडेको होइन, छाड्दा जित्ने बेलैमा छाड्नपर्छ भनेर पनि छाडेको हो। यसपालि चुनाव जित्न सकिन्छ भन्ने नै थियो,’ भट्टराईले नेपालखबरसँग भने, ‘एमालेको माहोल राम्रो छ। प्रतिस्पर्धा कांग्रेससँगै हो तर, चुनाव हामी जित्छौँ।’
यसअघिको भन्दा ५ हजार भोट घटे पनि चुनाव हार्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। २०७९ को चुनावमा खोटाङमा एमाले विभाजन भयो। जिल्ला अध्यक्ष बबी चाम्लिङ र प्रदेश सभा सदस्य राजन राईसहितका नेताहरु नै एमाले छाडेर एकीकृत समाजवादीतिर लागे।
तर एकीकृत समाजवादी अहिले माओवादीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्यो। चाम्लिङसहित जिल्लाका धेरै नेताहरु एमालेमै फर्किए। यी कारण पनि एमाले बलियो बनेको भट्टराईको दाबी छ।
‘यसअघि छाडेर गएका नेताहरु पनि फर्किरहेका छन्। यसपालि टोलटोलमा पुग्छौँ, एमालेमा फर्किन भन्छौँ। पार्टी एकताबद्ध बनाएर नेताहरु सबै फिल्डमा खट्छौँ। एमालेको संगठन व्यवस्थित छ। हाम्रो सांगठनिक मत नै धेरै छ। अरुले फाइदा लिने भनेको संगठन बाहिरको मतको हो,’ भट्टराईले भने।
यसपालि विद्रोही छैनन् : कांग्रेस
जिल्लामा आन्तरिक कलहले कांग्रेस गिजोलिएको छ। पार्टीमा यत्रो उथलपुथल हुँदा पनि खोटाङ कांग्रेसमा अघिल्लो चुनावकै झगडा मिलिसकेको छैन।
जिल्ला सभापति विष्णुकुमार राईको कारबाही फुकुवा गर्ने निर्णय यही झगडाको बीचमा भएको छ। कारबाही फुकुवाको निर्णय भए पनि वीरकाजी राईको मनोनयन दर्तामा उनी जिल्ला पुगेनन्।
कांग्रेस खोटाङका प्रवक्ता रोजन राई भन्छन्, ‘आज पनि केही साथीहरुसँग छलफल भयो, पर्सि फेरि भेला राख्छौँ र सबैजना जिल्ला फर्किन्छौँ। एकजुट भएर जानुपर्छ भनेर पहल गरिरहेका छौँ।’
यो चुनावमा खोटाङ कांग्रेसको बलियो पक्ष भनेकै सबै विवाद मिलेर एकजुट हुने दाबी प्रवक्ता राईको छ। यसअघिको चुनावमा कांग्रेसले एउटा प्रदेशमा मात्रै टिकट पाएपछि विद्रोह भएको थियो। विद्रोही पक्षले प्रदेश (क) मा उम्मेदवारी दिँदा गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार वीरबलकाजी राई पराजित भए र एमाले उम्मेदवार पाँचकर्ण राई विजयी भए। तर त्यो चुनावमा धारोलाई भोट हाल्नेहरु सबै यसपटक रुखमै आउने कांग्रेसको दाबी छ।
‘यसपालि अन्तर्घात हुँदैन। उम्मेदवार छनोट शीर्ष तहलाई छाडेर गर्दा वीरकाजीमाथि सबैको सहानुभूति रहन्छ। सबै एकजुट हुन्छौँ,’ राईले नेपालखबरसँग भने, ‘यसअघि टिकट दिएकैहरुले पाएको भए बदला र प्रतिस्पर्धाको हिसाबले हेर्थे। हाम्रो पुरानो रोग थियो। यसपटक त्यस्तो हुँदैन। साझा उम्मेदवार भएकाले कांग्रेसको मत एकै ठाउँमा झर्छ।’
गएको निर्वाचनमा अन्तर्घात भइसकेपछि पार्टीले एउटा पाठ सिकाइसकेको कांग्रेस कोसी प्रदेशका महामन्त्री एवम् खोटाङ (ख) का प्रदेश सांसद भूपेन्द्र राई बताउँछन्।
पार्टीमा अन्तरघात गर्नेलाई कारबाही हुन्छ भन्ने सचेत गराइएकाले पनि यसपटक सबै एकजुट हुने उनको विश्वास छ। अर्को आधार उनी आफूले जितिसकेपछि गरेको काम र जिल्लाका स्थानीय तहका कांग्रेस प्रतिनिधिको कामलाई लिन्छन्।
‘खोटाङ (ख) मा चुनाव जितिसकेपछि हामीले धेरै राम्रा काम गरेका छौँ। नागरिकले त्यो देखेका छन्। खोटाङको विकासका लागि नेपाली कांग्रेसलाई नै मतदान गर्छन्,’ प्रदेश महामन्त्री राईले भने, ‘कांग्रेस मजबुत भएकैले विशालजीले उठ्ने आँट गर्नु भएन।’
हाम्रो उम्मेदवारलाई संगठन बाहिरको पनि मत आउँछ : नेकपा
पछिल्ला चार वटा चुनावमध्ये तीन वटा चुनावमा खोटाङमा माओवादीको मिसन सफल भएको छ। २०६४ सालमा एक्लै दुवै क्षेत्रमा चुनाव जितेको माओवादीले २०७० मा दुवै क्षेत्र गुमायो। तर पछिल्ला दुवै चुनावमा गठबन्धनबाट माओवादी उम्मेदवारले संसदको यात्रा गरे।
समानुपातिक मत भने एमाले र कांग्रेसको तुलनामा माओवादीको निकै कम छ। तर यसपालि आफ्ना उम्मेदवारलाई संगठनबाहिरको मत आउने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को विश्वास छ।
नेकपा उम्मेदवार हरि रोका पार्टीको क्रियाशील सदस्य पनि होइनन्। उनलाई आफूहरुले नै आग्रह गरेर उम्मेदवार बनाएको नेकपाकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई बताउँछिन्।
एमाले फुटेर माले बनेका बेला २०५६ सालको निर्वाचनमा हरि रोकाले ८ हजार ३१२ मत पाएका थिए। कांग्रेसका शिवकुमार बस्नेत १७ हजार ४२२ मतसहित विजयी हुँदा एमालेका विशाल भट्टराईले १० हजार ५१३ मत ल्याए। २६ वर्षपछि फेरि चुनावमा होमिँदा पनि उनका चुनौती भने पुरानै दलका उम्मेदवार छन्।
‘हरि रोका जस्तो विज्ञ, सक्षम व्यक्तित्व खोटाङको परिस्थितिलाई चिन्ने, राष्ट्रिय परिस्थितिलाई बुझ्न सक्ने हामीले अगाडि बढाउँदा एकखालको पार्टी बाहिरका तटस्थ मतदाताले पनि भोट दिनुहुन्छ। यो हाम्रो प्लस प्वइन्ट हो,’ राईले नेपालखबरसँग भनिन्, ‘पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मत दिनुपर्छ भन्ने सोच पनि मतदातामा बढ्दै गएको छ। हाम्रो अपिल पनि त्यही छ। हरि रोका हाम्रो पार्टी कमिटेड व्यक्ति पनि होइन। तर अहिले उहाँ जस्तो मान्छेको योगदान राष्ट्रलाई, समाजलाई आवश्यक छ भनेर जरुरी ठानेका हौँ।’
नेकपाको संगठनको मत नबिग्रिएको र अरु पार्टीको मत थपिएको केन्द्रीय सदस्य राईको दाबी छ। अरु पार्टीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै एकीकृत समाजवादीबाट राजन राईसहितका नेताहरु सामेल छन्। एमालेका कमल ढकाल र जसपाको पनि एउटा टिम नेकपासँग जोडिएको छ। तर पुराना दलहरु र नयाँ दलहरुलाई पनि कम नआँकेको उनी बताउँछिन्।
आन्तरिक छलफलमा रहेको नेकपा माघ १३ गतेबाट फागुन २ गतेसम्म उम्मेदवारसहित गाउँगाउँ जाने योजनामा छ।
२०७९ को निर्वाचनमा खोटाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनसँग पराजित भए पनि समानुपातिकमा एमालेको मत सबैभन्दा धेरै आएको थियो। एमालेले २४ हजार २७१ मत पाउँदा कांग्रेसको १८ हजार ६७२ र माओवादीको ११ हजार ८४५ मत आएको थियो। एकीकृत समाजवादीले ३ हजार ३६३, जसपाले २ हजार २४८ र रास्वपाले १ हजार ४९७ मत पाएको थियो।
२०७४ सालको निर्वाचनमा पनि एमालेकै बढी मत थियो। त्यतिबेला एमालेको २४ हजार १३४, कांग्रेसको २० हजार ७१८ र माओवादीको १२ हजार ४३३ मत थियो।
Shares

प्रतिक्रिया