राजनीति


उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आयोगको पत्राचार

उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आयोगको पत्राचार

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १९:५, काठमाडौँ

निर्वाचन आयोगले चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। 

आगामी प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले छुट्टै खाता खोलेर हिसाबकिताब राख्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ।

निर्वाचनमा गरिने खर्चका लागि जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र यसरी तोकिएका पदाधिकारीको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था छ। 

यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छु‌ट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। दलले निर्वाचनमा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ। 

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन्। 

त्यसलाई कार्यान्वयन गर्न आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको हो। यसरी खोलिएका खातालाई निर्वाचन सकिएपछि पनि आयोगले बन्द गर्न नलगाउँदासम्म यथावत राख्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad