राजनीति


धनुषा ३ मा बिमलेन्द्र र जुलीलाई यसपटक भारी पर्न सक्छन् मनिष

मधेसमा बालेनको ‘इन्ट्री’ले जनमत उलटफेर हुने अनुमान
धनुषा ३ मा बिमलेन्द्र र जुलीलाई यसपटक भारी पर्न सक्छन् मनिष

सुभाष कर्ण
माघ ९, २०८२ शुक्रबार १५:३१, जनकपुरधाम

मधेस प्रदेशको राजधानी जनकपुरधामका अधिकांश भाग समेटिएको धनुषा ३ मा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवार विभिन्न दाउसहित निर्वाचनमा होमिएका छन्। 

फागुन २१ गते हुन लागेको निर्वाचनमा धनुषा ३ बाट विभिन्न दल र स्वतन्त्र गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यहाँ नेपाली कांग्रेसबाट बिमलेन्द्र निधि, नेकपा एमालेबाट जुली महतो, रास्वपाबाट मनिष झा, नेकपाबाट रामललित मण्डल, जसपा नेपालबाट परमेश्वर साह र राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झासहित १६ वटा दलका उम्मेदवारले मनोयन दर्ता गराएका छन्।

यस क्षेत्रमा दलबाहेकका उम्मेदवार २९ जना छन् पत्रकार दिवाकार साह पनि चुनावी मैदानमा छन्। ४५ मध्ये २० भन्दा बढी ‘डमी’ उम्मेदवार खडा भएका छन्। 

केही दलले पुरानै उम्मेदवारलाई यसपटक पनि खडा गरेका छन्। तर, अधिकांश दलका उम्मेदवार नयाँ छन्। 

यसपटक बढीजसो उम्मेदवारले सामाजिक सञ्जालबाटै भोट मागिरहेको देखिन्छ। 

फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उम्मेदवारले भोट मागिरहेका छन्। कतिपय उम्मेदवारले मठ मन्दिरमा भाकल गरेर पनि चुनाव प्रचार सुरु गरेका छन्। 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय मुक्ति पार्टीका राजीव झालेले भारतको मधुबनी जिल्लास्थित कल्याणेश्वरस्थित महादेव मन्दिरमा पूजापाठ गरेर आफ्नो चुनावी अभियानको सुरुवात गरेका छन्। 

निधिले जनकपुरधामस्थित जानकी मन्दिर र संकट मोचन मन्दिरमा पनि पूजापाठ गरेका छन्। 

नेकपा एमालेकी जुली महतो पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने संकट मोचन, नगर डिहबार लगायतका मठ मन्दिरमा पूजापाठ गर्दै चुनावी अभियानमा जुटेकी छन्। 

मठ मन्दिरमा पूजापाठसँगै उनले पार्टीका नेता, कार्यकर्तासँग पनि भेटघाट तीव्र पारेकी छन्। नेता कार्यकर्ता निर्वाचनमा मतदाता रिझाउन चियापसल र घर घरमा गएर आ-आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने क्रम तीव्र भएको नगराईनका दिपेश कर्णले बताए। 

जनकपुरधाम उपमहानगरपालिका- ४ का प्रमोद साह मनोयन दर्ताको भोलीपल्टैदेखि उम्मेदवारदेखि विभिन्न दलका नेता-कार्यकर्ता विभिन्न एजेण्डासहित भोट माग्न आएको बताए। 

यसअघिका निर्वाचनमा मधेसमा गाडी र पर्खालमा पोष्टर र ब्यानर झुण्डयाएर मत माग्ने प्रचलन धेरै हुन्थ्यो। तर, यसपटक त्यो खाले प्रचार प्रसार खासै देखिएको छैन। 

प्रत्येक उम्मेदवारले सामाजिक सञ्जालमा दैनिक एक दर्जनभन्दा बढी पोष्ट गरेर भोट मागेको देखिन्छ। यसले पनि यस पटकको निर्वाचनमा परम्परागत प्रचार प्रसार भन्दा डिजिटल माध्यमबाट चुनाव प्रचार बढी हुने देखिन्छ। 

धनुषा ३ कांग्रेसको पुरानो विरासत मानिएको क्षेत्र पनि हो। यो कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री बिमलेन्द्र निधिको गृहनगर पनि हो। 

बिमलेन्द्रका बुवा महेन्द्र नारायण निधिदेखि सो क्षेत्र कांग्रेसको आधार क्षेत्रको रुपमा परिचित छ। तर, गएका दुईवटा आम निर्वाचनमा भने यस क्षेत्रमा कांग्रेसले चुनाव जित्न सकेको छैन। 

२०४८ देखि २०७९ सम्म भएका सातवटा निर्वाचनमा यस क्षेत्रबाट चारपटक कांग्रेस उम्मेदवार विजयी भएका थिए। तर, २०७९ र २०७४ मा भने यहाँबाट कांग्रेस उम्मेदवार निरन्तर पराजित हुँदै आएका छन्। 

पछिल्लो निर्वाचनमा भने यस क्षेत्रबाट एमालेकी जुली महतो विजयी भएकी थिइन्। त्यसअघि २०७४ मा तत्कालीन राजपा नेपालका राजेन्द्र महतोले यहाँबाट चुनाव जितेका थिए भने २०५६ सालमा यहाँबाट राप्रापका कृष्णप्रसाद मल्ल पनि निर्वाचित भएका थिए।

२०७९ सालको निर्वाचनमा निधि गठबन्धनमा आबद्ध लोसपा नेपालका उम्मेदवार अनिल झालाई समर्थन गर्दै समानुपातिकबाट सांसद बनेका थिए। 

२०७९ सालको निर्वाचनमा जुली महतो लोसपाका अनिल झालाई करीब १० हजारको मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन्। महतोले ३३ हजार ३८८ मत ल्याएकी थिइन् भने झाले २३ हजार ६८६ मत ल्याएका थिए। 

२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग निधि २ हजार ९०३ मतान्तरले पराजित भएका थिए। 

महतोले ३० हजार ७५० मत प्राप्त गर्दा निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा जुली महतोलाई १ हजार ४९२ मतअन्तरले पराजित गर्दै यहाँबाट निधिले चुनाव जितेका थिए। सो निर्वाचनमा निधीले १५ हजार ३१ र महतोले १३ हजार ५३९ मत ल्याएका थिए। 

२०६४ को संविधानसभा निर्वाचनमा निधिले एमालेका उम्मेदवार हरिदेव मण्डललाई ५ हजार ६४६ मतले पराजित गर्दै विजयी भएका थिए। 

त्यतिबेला निधिले १५ हजार ५८२ मत ल्याउँदा मण्डलले ९ हजार ९३६ मत पाएका थिए।

कांग्रेस र एमालेबाहेक यसपटक नेकपा, रास्वपा, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी, आजपा, राप्रपा लगायतका दलले धनुषा ३ मा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छन्। 

नेकपाबाट रामललित मण्डल, रास्वपाबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राप्रपाबाट हुसैन कवारी र आजपाबाट प्रदीप विक्रम साह उम्मेदवार बनेका छन्। यी सबै धनुषा ३ को लागि नयाँ अनुहार हुन्। 

जसपा नेपालका साह पूर्व मधेस प्रदे सांसद हुन्। रास्वपाका झा अघिल्लो निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। अन्य सबै नयाँ अनुहार हुन्। रास्वपाले २०७९ को निर्वाचनमा रञ्जित पञ्जियारलाई उम्मेदवार बनाएको थियो। त्यतिबेला उनले ४३३ मत मात्रै पाएका थिए। 

तर, यस पटक स्थिति फरक हुने आँकल गर्न थालिएको छ। रास्वपामा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह बालेनको इन्ट्रीले जनमत उलटफेर हुने दाबी रास्वपाका नेताहरूको छ। 

यसपटक रास्वपा उम्मेदवार झालाई जातीयसँगै युवा वर्गमा देखिएको बालेन क्रेजको मत समेटिने अनुमान गरिएको छ। 

धनुषाका अन्य क्षेत्रमा रास्वपाका उम्मेदवारको उपस्थिति बलियो नभए पनि धनुषा ३ मा भने राम्रै प्रभाव पर्ने अनुमान राजनीतिक विश्लेषका डा. सुशिल यादव गर्छन्। उनी भन्छन्,  ‘जीत हार बेग्लै कुरा हो, तर युवा वर्गमा बालेनप्रति देखिएको क्रेज रास्वपाको मतमा परिणत हुने सम्भावना छ। यसपटक रास्वपाले धनुषा ३ मा प्रत्यक्ष र समानुपाति दुवैतर्फ राम्रै मत बटुल्न सक्छ।’

एक लाख २५ हजार ९२७ मतदाता रहेको धनुषा क्षेत्र ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ वटा वडासहित नगराईन नगरपालिका, मुखियापट्टी गाउँपालिका र धनौजी गाउँपालिकासहित जम्मा ३८ वटा वडा समेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad