राजनीति


भोजपुरमा लगातार चुनाव जितेका सुदनले मैदान छाड्दा पनि गाह्रै छ शेरधनलाई

कांग्रेस, नेकपा र श्रम संस्कृतिको शक्ति कति?
भोजपुरमा लगातार चुनाव जितेका सुदनले मैदान छाड्दा पनि गाह्रै छ शेरधनलाई

उजिर कार्की
माघ ८, २०८२ बिहिबार १९:३८, काठमाडौँ

२०७४ सालमा समायोजन भएपछि भोजपुर एउटा निर्वाचन क्षेत्रमा खुम्चियो। त्यसपछि प्रतिस्पर्धा साँघुरियो। दलहरूले गठबन्धन गर्दा प्रतिस्पर्धी उम्मेदवारले एकअर्कासँग भिड्न पाएनन्, मिल्नु पर्‍यो। 

भोजपुर वामपन्थीको गढका रुपमा परिचित छ। गएको निर्वाचनमा गठबन्धन गरेर प्रदेशमा एउटा सिट जित्नु बाहेक कांग्रेसले भोजपुरमा चारतारे झण्डा फहराउन सकेको छैन। बरु भोजपुरमा हारेका कांग्रेस उम्मेदवार नै क्षेत्र परिवर्तन गरेर संसदको ढोका खोल्न बाध्य छन्। 

भोजपुरमा चुनाव जित्न नसकेका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट संसदमा प्रतिनिधित्व गर्न सफल भए। उनी सुनसरी झरेपछि पनि कांग्रेस त्यहाँबाट प्रतिनिधि सभा पुग्न सकेको छैन। त्यसअघिको हालत पनि त्यस्तै थियो। 

गएको निर्वाचन (२०७९) मा नेपाली कांग्रेसले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग गठबन्धन गर्‍यो। गठनबन्धनबाट सुदन किराती उम्मेदवार बने र विजयी पनि भए। 

त्यसअघि २०७४ सालको निर्वाचनमा पनि उनैले चुनाव जितेका थिए। भोजपुर एउटा निर्वाचन क्षेत्रमा समेटिएपछि सुदनबाहेकले संसदको यात्रा गर्न सकेका छैनन्।

तर यसपटक सुदनले मैदान खाली गरेका छन्। उनी चुनावी प्रतिस्पर्धाबाट बाहिर छन्। माओवादीले एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन गर्‍यो। 

एकीकरण भएर बनेको नयाँ पार्टीमा उनी गएनन्। जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागे। सुदनकै गृह जिल्लामा यो पार्टीले उम्मेदवार उठाएन। 

यसअघिको निर्वाचनमा सुदनले एमालेका शेरधन राईलाई पराजित गरेका थिए। शेरधन राई नेकपा एमालेका सचिव हुन्। कोसी प्रदेशको मुख्यमन्त्री बनिसकेका उनलाई संघको यात्रामा सुदन बाधक बनेका थिए।  

त्यसअघि २०७४ सालको निर्वाचनमा पनि संघको टिकट सुदनले पाएपछि शेरधन प्रदेशमा झरेका थिए। भोजपुर (ख) बाट विजयी भए। त्यसपछि उनी संघ फर्किने जमर्कोमा छन्। 

तर यसपटक सुदन उम्मेदवार नबने पनि उनको समर्थन शेरधनलाई छैन। न त यसअघि जिताएको नेपाली कांग्रेसका बालकृष्ण थापाले नै त्यो सहानुभूति पाउनेछन्। 

१२ उम्मेदवार प्रतिस्पर्धामा 
भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा छन्। शेरधनसँगै नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई ‘काङमाङ’, र श्रम संस्कृति पार्टीका ध्रुवराज राई पनि प्रतिस्पर्धामा छन्।

शेरधनलाई यी तीन उम्मेदवारको डर छ। 

यसअघि चुनाव जित्दै आएका सुदनले ध्रुवराजलाई समर्थन गर्ने घोषणा गरेका छन्। ध्रुवराज हर्क सम्पाङ नेतृत्वको पार्टीका उम्मेदवार हुन्। पूर्वमा यो पार्टीको प्रभाव राम्रो छ। 

सुदन भन्छन्, ‘मैले छाड्दा कसलाई सजिलो हुन्छ, त्यो त थाहा भएन तर मैले छोडेँ र माटोलाई समर्थन गरेँ। किन छोडेँ भने नेपालमा व्यक्ति जित्ने, तर देश र समाज सधैँ हारिरह्यो। व्यक्ति हारे पनि देश र व्यवस्थाले जितोस् भनेर छाडेको हो।’

अरु प्रमुख दलहरू परीक्षण भइसकेकाले जेनजी आन्दोलनपछि बनेको नयाँ पार्टीलाई समर्थन गरेको सुदनले बताए। अब ध्रुवराजले बोलाए उनको चुनावी अभियानमै संलग्न हुने पनि सुदनले बताए। 

सुदनले जित्दै आएको पार्टी नेकपा (पूर्वमाओवादी) का अजम्बर राई ‘काङमाङ’ले यसपटक एकीकृत समाजवादीसहितका दलहरूको मत पाउनेछन्। यो पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमै मिलेको छ। 

भोजपुरबाट एकीकृत समाजवादीले प्रदेश सांसद जितेको छ। राजेन्द्र राई प्रदेशमा प्रतिनिधित्व गर्छन्। सुदनले छाडे पनि उनले मत तान्न नसक्ने र शेरधन राईको मत घट्ने विश्वासले उनी जितको आशामा छन्। 

कहिल्यै नजितेको भोजपुरमा गएको निर्वाचनमा गठबन्धनको बलमा कांग्रेसले प्रदेश (ख) मा चुनाव जित्यो। विनोद बान्तावा निर्वाचित भए। माटोका उम्मेदवारले एमाले र नेकपाका उम्मेदवारको मत काट्ने र कांग्रेसको मत जोगाए आफू निर्वाचित हुने सम्भावना कांग्रेस उम्मेदवार बालकृष्ण थापाले देखेका छन्। 

यसपटकको चुनावमा रास्वपाको पनि छुट्टै माहोल छ। यसअघि प्रभाव कम रहेका जिल्लामा पनि यो दलले प्रभाव बढाउँदै लगेको छ। 

नेपाल मजदुर किसान पार्टीका राजाराम बासी, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल र नेपाल मङ्गोल नेसनल अर्गनाइजेसनका चन्दप्रसाद राईले पनि उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई र आम जनता पार्टीका युवराज थापा पनि प्रतिस्पर्धामा छन्। 

भोजपुरमा कुल एक लाख २५ हजार ७६६ मतदाता छन्। जिल्लामा ८७ मतदान स्थल र एक सय ६१ मतदान केन्द्र रहेका छन्।

पछिल्ला दुई चुनावको हिसाब
२०७९ सालको चुनावमा निर्वाचित हुँदा सुदनले २८ हजार ५९१ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी शेरधनले २६ हजार २०२ मत पाएका थिए। 

तर, सुदनलाई एकीकृत समाजवादी, माओवादी र कांग्रेसको साथ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सोनमछिरिङ शेर्पाले ५०० मत पाएका थिए। 

प्रत्यक्षतर्फ सुदनले चुनाव जिते पनि समानुपातिकमा सबैभन्दा बढी मत एमालेले पाएको थियो। 

एमालेले समानुपातिकमा २२ हजार ९४० मत ल्याउँदा कांग्रेसले १४ हजार ७७६, माओवादीले १२ हजार ७५० र एकीकृत समाजवादीले ३ हजार ६९३ मत पाएका थिए। रास्वपाको १ हजार २१८ मत थियो।

२०७४ सालमा पनि दलहरूले पाएको मत यस्तै थियो। सबैभन्दा बढी एमालेले २५ हजार ९९, कांग्रेसले १५ हजार ७१० र माओवादीले ११ हजार १५४ मत पाएका थिए। जतिबेला एमाले एक थियो, फुटेर एकीकृत समाजवादी बनेको अवस्था थिएन।

तर त्यो चुनावमा एमाले र माओवादीको गठबन्धन थियो। गठबन्धनबाट सुदनले ३४ हजार ३९४ मत ल्याएर निर्वाचित भएका थिए। 

नेपाली कांग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए। त्यसअघि २०६४ सालको निर्वाचनमा दुवै क्षेत्र माओवादीले र २०७० सालको निर्वाचनमा दुवै क्षेत्र एमालेले जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad