नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दा पुस्तान्तरणको ठूलो जोखिम र साहस दुवै देखाएको छ। सभापति गगन थापाको नेतृत्वमा भएको उम्मेदवार छनोटले पार्टीभित्र दशकौँदेखिको परम्परा तोड्दै क्रान्तिको संकेत गरेको हो।
कांग्रेसले यस पटक १०६ जना नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ। यो संख्या प्रत्यक्षतर्फको कुल उम्मेदवारीको ६४ प्रतिशतभन्दा बढी हो। २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ५ महिला मात्र उठाएको कांग्रेसले यस पटक संख्या दोब्बरभन्दा बढी पार्दै ११ पुर्याएको छ।
'छोटो समय र ठूलो दबाबबीच पनि हामीले उपलब्ध सिटहरूलाई व्यवस्थित गरेका छौँ,' कांग्रेस प्रवक्ता देवराज चालिसले नेपालखबरसँग भने, 'यो ठूलो परिवर्तन हो।' उनले केही योग्य साथीहरू छुटेको स्वीकार गर्दै उम्मेदवारी पाउनु र जिम्मेवारी पाउनु फरक विषय भएको तर्क गरे।
२०७९ को निर्वाचनमा माओवादीसँग चुनाबी गठबन्धन गरेको कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो। गगन थापा कांग्रेस सभापति बनेपछिको सबैभन्दा ठूलो निर्णय नै उम्मेदवार छनोटको हो। विशेष महाधिवेशनबाट उनी पार्टी नेतृत्वमा आएका हुन्।
मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया सकिएपछि हामीले पार्टी प्रवक्ता देवराज चालिसेलाई सोधेका थियौँ, गगन थापा पार्टी सभापति भएपछि उम्मेदवार चयनमा पहिलाभन्दा के फरक भयो, डेटामा भन्न सक्नुहुन्छ? दुई पटकको कोसिसमा उनले २०७९ को टिकट वितरणको तथ्यांकसँग तुलना गरे।
१. नयाँ उम्मेदवार धेरै: २०७९ मा नयाँ उम्मेदवार २७ जना थिए। अहिले १६५ उम्मेदवारमध्ये १०३ जना नयाँ अनुहार छन्। यो भनेको ६४.२४ प्रतिशत हो।
२. महिला प्रतिनिधित्वः २०७९ मा प्रत्यक्षतर्फ ५ जना महिला उम्मेदवार थिए। अहिले ११ जना महिला उम्मेदवार बनेका छन्।
३. उम्मेदवार संख्या: २०७९ मा ९१ क्षेत्रमा मात्र नेपाली कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको थियो। बाँकी क्षेत्र माओवादीका लागि छोडेको थियो। यस पटक सबै १ सय ६५ क्षेत्रमा उम्मेदवारी दिएको छ।
४. युवा उम्मेदवारः २०७९ को निर्वाचनमा ४८ वर्षभन्दा मुनिका २३ जना उम्मेदवार थिए। योगेश गौचन थकाली ४० वर्षमुनिका युवा थिए। अहिले नयाँ १०६ उम्मेदवारमध्ये सबै ४५ वरपर उमेरका छन्।
५. नेताको उमेर: २०७९ मा ७० वर्ष कटेका नेताहरु २३ जना थिए। अहिले ५ जना मात्रै छन्।
कांग्रेसको यो 'सांगठनिक शल्यक्रिया' ले उम्मेदवारको सूची मात्र बदलेको छैन, नेपाली राजनीतिमा जकडिएको 'वृद्धतन्त्र'विरुद्ध एउटा गम्भीर सन्देश प्रवाह गरेको छ। १०६ नयाँ अनुहारको यो लस्करले मतदातामा कस्तो उत्साह थप्छ, थप्दैन भन्ने कुराले आगामी दशकको नेपाली राजनीतिको चरित्र तय गर्नेछ।
Shares

प्रतिक्रिया